परासी,कार्तिक १८ –
नेपाली कांग्रेसबाट असन्तुष्ट जनाउँदै उम्मेदवारी दिएका ऋषिराम पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् । नवलपरासीको बर्दघाट–सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाबाट नेपाली कांग्रेस(वी.पी.) पार्टीबाट पौडेलले उम्मदेवारी दिएका थिए ।
शनिबार विज्ञप्ति प्रकाशित गर्दै पौडेलले पछिल्लो पटक नेपाली कांग्रेसले निष्ठावान र संघर्षरत कार्यकर्ताको भावना नबुझी केही नेताको दबाबमा टिकट वितरण गरेकोले त्यसतर्फ ध्यान आकर्षण गराउँन आफ्नो उम्मेदवारी दिएको उल्लेख गरेका छन् । नेतृत्वकै कारण स्थानीय तह निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुग्नु परेको जनाउँदै विज्ञप्तिमा कार्यकर्ताहरुको भावनालाई बुझेर अघि बढ्न पार्टीलाई आग्रह गर्दै आफ्नो समर्थन कांग्रेसका उम्मेदवारहरुलाई रहने उल्लेख छ ।
कांग्रेसका क्षेत्रीय प्रतिनिधि एंव नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले पार्टीको आधिकारिक उम्मेदवार देबेन्द्रराज कँडेलविरुद्ध भन्दै उम्मेदवारी दर्ता गरेका थिए ।