–दिपेन्द्र अधिकारी
चितवन,असोज २६ –
केन्द्रमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र अन्ततः पार्टी एकीकरणको चर्चा भइरहँदा चितवनमा वाम एकतालाई बल पुग्ने गरी माओवादीका मतदाताले एमाले उम्मेदवारलाई भोट हालेका छन् ।
जिल्ला समन्वय समिति चितवनको सभा गठनका लागि भएको निर्वाचनमा भरतपुर महानगरकी मेयर रेणु दाहालले एमाले उम्मेदवार कृष्णकुमार डल्लाकोटीसहित सबैलाई भोट हालेकी छन् ।
‘हामीले एमालेलाई भोट हालेका छौँ’, माओवादी केन्द्रका जिल्ला संयोजक यमबहादुर परियारले भने । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले एमालेका उम्मेदवारहरुलाई मतदान गरेका हुन् ।
भरतपुर महानगरको चुनावमा रेणुले एमाले उम्मेदवार देवी ज्ञवालीसँग प्रतिस्पर्धा गरेकी थिइन् । जसमा दाहाल २०३ मतअन्तरले विजयी भएकी थिइन् । भरतपुर महानगरको चुनावका बेला जिल्लामा एमाले र माओवादीबीच निकै आरोप प्रत्यारोप चलेको थियो ।
जिल्ला सभाको निर्वाचनमा जिल्लाका ७ स्थानीय तहका १४ जना प्रमुख र उपप्रमुखले मतदान गर्ने अधिकार राख्दछन् । जसमा एमालेको ९ मत, कांग्रेसको ३ मत र माओवादीको २ मत रहेको सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले बताए ।
कांग्रेससँगको महानगर गठबन्धन टुट्यो
केन्द्रमा वाम दलहरुबीच चुनावी तालमेलको विषय चर्चामा आएसँगै जिल्लामा यसको प्रत्यक्ष असर परेको छ । यसअघि भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा चुनावी तालमेल गरेका माओवादी र कांग्रेसको एकता ३ हप्ताअघि भएको भरतपुर महानगरको कार्यपालिका गठनसम्म रहेको थियो ।
त्यसबखत गठबन्धनको स्पष्ट बहुमत हुँदा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । जसले गर्दा ३९ सदस्यीय कार्यपालिका बोर्डमा एमाले एक्लैको २० सिट पुगेको थियो । गठबन्धन बहुमत भएर पनि कार्यपालिकामा अल्पमतमा परेको थियो ।
सबै पदमा एमाले विजयी
जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेका कृष्णकुमार डल्लाकोटी निर्वाचत भएका छन् । बुधबार भएको जिससको निर्वाचनमा नेपाली कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी विजयी भएका हुन् । विजयी प्रमुख र उपप्रमुखलाई बुधबार नै सपथ ग्रहण गराइएको सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले बताए ।
कुल १४ मतमा एमालेका डल्लाकोटीले ११ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी अधिकारीले ३ मतमात्र ल्याएका हुन् । जिससमा एमाले र कांग्रेसको मात्र उम्मेदवारी परेको थियो ।
त्यस्तै उपप्रमुखमा पनि नेकपा एमालेकै मुनाकुमारी श्रेष्ठ विजयी भएकी छन् । नेपाली कांग्रेसकी टीका दाहाललाई पराजित गर्दै श्रेष्ठ विजयी भएकी हुन् । उनले ११ मत प्राप्त गर्दा दाहालले ३ मत प्राप्त गरेकी छन् ।
जिससको ९ सदस्यीय समितिका अन्य सदस्यहरुमा खिलाकुमारी सिखंडा, लीलादेवी पोखरेल, सीता पुन, गुनु विक, कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरूङ र चूडामणि महतो रहेका छन् ।