• होमपेज
  • समाचार
  • चितवन राष्ट्रिय निकुञ्जमा घाँटीमा प्वाल परेको गैँडा भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा घाँटीमा प्वाल परेको गैँडा भेटियो

  • मङ्लबार, अशोज २४, २०७४
चितवन राष्ट्रिय निकुञ्जमा घाँटीमा प्वाल परेको गैँडा भेटियो

चितवन असोज २४ –

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँटीमा प्वाल परेको अवस्थामा एउटा घाइते गैँडा फेला परेको छ ।

अन्दाजी १५÷२० वर्षको जस्तो देखिने पोथी गैँडा घाइते अवस्थामा भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार अर्को गैँडाले हानेर घाँटीमा प्वाल परेको अवस्थामा गैँडा देखिएकाले उपचार थालिएको छ ।

अर्को गैँडाको सिङले घाँटीमा उनेको जस्तो देखिएको बताउँदै घाउमा पिप बगिरहेको अवस्थामा केही दिनअघि सो गैँडा फेला पारिएको उहाँले बताउनुभयो । “निकुञ्जका चिकित्सक र पशु प्राविधिज्ञहरुको टोलीले उपचार थालेका छन्”, कँडेलले भन्नुभयो, “उपचार सफल हुने आशा छ ।”

उक्त गैँडाको घाँटीसँगै करङ र खुट्टामा समेत चोट देखिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । घाँटीको श्वासनलीसम्मै असर परेको छ । गैँडालाई डाट गरेर बेहोस बनाई एन्टिबायोटिक, भिटामिन र मिनरल दिइएको छ । घाइते भएपछि आहालमा मात्रै बस्दै आएको गैँडा अहिले हिँड्डुल गर्न थालेको जनाइएको छ ।

निकुञ्जको सेना र बाघमारा मध्यवर्ती सामुदायिक वनका कर्मचारीले गैँडाको निगरानी गरिरहेका छन् ।

यसअघि गएको भदौ अन्तिम साता चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत कुमरोज सामुदायिक वनमा भाले गैँडाले हानेर अर्को भाले गैँडाको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक बताउनुहुन्छ ।

अघिल्लो वर्ष पनि गैँडाले हानेर गैँडाको मृत्यु भएको थियो । चितवन निकुञ्जमा ६०५ वटा दुर्लभ एकसिंगे गैँडा रहेको तथ्याङ्क छ ।

अघिल्लो वर्ष निकुञ्जमा विभिन्न कारणले २५ गैँडा मरेको थियो । चालु आवमा पनि नौवटा गैँडा विभिन्न कारणले मरिसकेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । – रासस

फाइल फोटो

Facebook Comments

सम्बन्धित समाचार