• होमपेज
  • Uncategorized
  • भारतीय केरा आयातले चितवनका किसान मर्कामा

भारतीय केरा आयातले चितवनका किसान मर्कामा

  • सोमवार, अशोज २३, २०७४
भारतीय केरा आयातले चितवनका किसान मर्कामा

चितवन,असोज २३-

भारतीय केराको आयातले चितवनका किसान मर्कामा परेका छन् । दसैंको मौका छोपी भारतीय केरा भित्रिएपछि यहाँको उत्पादनले बजार नपाउँदा किसान मर्कामा परेका हुन् ।

जिल्लामा केरा किसानको संख्या हात्तै बढेको छ । उत्पादन पनि उत्तिकै बढेको छ । तर पछिल्लो केही समययता भारतबाट आयातित केराले स्थानीय उत्पादनको बिक्रीमा समस्या ल्याएको छ । स्वदेशमै उत्पादित केराले बजार पाउन सकेको छैन । दसैंका बेलामा भारतबाट ठूलो मात्रामा केरा भित्रिएको चितवन केरा उत्पादन संघका अध्यक्ष विष्णुहरि पन्तले बताए । ‘भारतबाट केरा भित्रिन थालेपछि स्थानीय उत्पादनका हरियो केरालाई बिक्रीमा असर परेको छ,’ उनले भने, ‘स्थानीय उत्पादनका केरा खपत हुनुपर्नेमा भारतीय बढी हुन थाल्यो ।’ व्यापारीले भारतबाट जी नाइन र बिलियम हाइब्रेड जातका हरियो केरा भित्र्याएका हुन् ।

अध्यक्ष पन्तका अनुसार नेपालमा ४२ प्रतिशत केरा उत्पादन हुन्छ । ५८ प्रतिशत भारतबाटै आयात हुन्छ । पछिल्लो समय ७० प्रतिशत उतैबाट आउन थालेपछि समस्या भएको पन्तले बताए । नेपाली केराको तुलनामा भारतीय केही सस्तो पर्ने हुन्छ । भारतमा हरियो केराको उत्पादन बढदो छ । व्यापारीले वीरगन्ज, भैरहवा, गड्डाचौकी नाकाबाट केरा नेपाल भित्र्याउने गरेको संघको भनाइ छ । सुनौली भन्सारबाट दैनिक ४०/५० ट्रक भारतीय केरा भित्रिने गरेको छ । अन्य नाकाबाट त्यत्तिकै मात्रामा भित्रिने गरेको संघले जनायो । भारतीय केरा रोक्न नसके नेपाली किसान हतोत्साही हुने केरा व्यवसायी लक्ष्मण सुवेदीले बताए । ‘अहिले यहाँका किसान निराश छन्,’ उनले भने, ‘भारतबाट आयात रोकिएन भने यसले ठूलो समस्या निम्त्याउँछ ।’

चितवनलाई केराको हबको रूपमा चिनिन्छ । केराको सम्भावना बोकेकाले जिल्लामा व्यावसायिक रूपमै केराको खेती हुन लागेको हो । अन्य कृषि पेसामा होमिएकाको लगानी जोखिममा परिरहेका बेला पछिल्लो समय यहाँका किसान व्यावसायिक केरा खेतीबाट रामै्र आम्दानी लिन थालेका थिए । यहाँ फलफूलमध्येमा केरा खेती पहिलो स्थानमा पर्छ । उत्पादित केराको मुख्य बजार काठमाडौं, बुटवल, पोखरा र नारायणगढ हो । केराको थामबाट नेपाली कागज बन्छ । त्यसैगरी कोसाबाट मःम, अचार, चिप्स बन्छ । केरा लगाउन अन्य बाली मास्नु पर्दैन, खाली जग्गामा केरा खेती गर्न सकिन्छ ।

जिल्लामा १० हेक्टरका दरले प्रत्येक वर्ष केराको खेती विस्तार भइरहेको छ । संघका अनुसार जिल्लामा ६ सय ३० व्यावसायिक किसानले २ हजार ६ सय ५० बिघामा केरा खेती गर्दै आएका छन् । वार्षिक ४८ हजार टन उत्पादन हुने गरेको छ । केरा बिक्रीबाट १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएको अध्यक्ष पन्तले बताए ।

शिव पुरी/ कान्तिपुर दैनिक/फाइल तस्विर

Facebook Comments

सम्बन्धित समाचार