• होमपेज
  • समाचार
  • माओवादीका सात नेता–कार्यकर्ता विरुद्ध कारवाहीको सिफारिश

माओवादीका सात नेता–कार्यकर्ता विरुद्ध कारवाहीको सिफारिश

  • आइतवार, अशोज २२, २०७४
माओवादीका सात नेता–कार्यकर्ता विरुद्ध कारवाहीको सिफारिश

कञ्चनपुर,असोज २२ –

नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेशका प्रचार प्रसार विभाग प्रमुख ओम बिक्रम भाट ‘सरल’सहित सात जना नेता–कार्यकर्ता विरुद्ध कारवाहीको सिफारिश गरिएको छ । माओवादीको बेदकोट नगरपालिकास्तरीय कमिटिको विस्तारिक बैठकले ७ नम्बर प्रदेशका प्रचार प्रसार विभाग प्रमुख भाटसहित सात जना नेता–कार्यकर्तामाथि कारवाहीको लागि प्रदेश कमिटिलाई सिफारिश गरेको हो ।

विस्तारिक बैठकले प्रचार प्रसार विभाग प्रमुख भाट, केन्द्रीय सदस्य चन्द्रकान्त भट्ट ‘सिके’, सल्लाहकार हेमराज पाण्डेय, गजेन्द्रप्रसाद पन्त ‘सुवाश’, डम्बर भाट ‘कञ्चन’, खगेश्वर बोहरा, हिरा जैशी ‘सीमा’ माथि करवाहीका लागि प्रदेश कमिटिलाई सिफारिश गरेको माओवादी स्रोतले जनाएको छ ।

उनीहरुमाथि स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लागेको छ । पार्टीको नीति, विधि, नियम र पद्धती विपरित अभिव्यक्ति दिएको, प्रतिद्वन्द्वी पार्टीका नेता–कार्यकर्ताहरुलाई पार्टीभित्रका आन्तरिक सूचना उपलब्ध गराएको, जातिय भेदभाव खल्बलाउने शब्दावली प्रयोग गरि आफ्नै पार्टीका उम्मेदवारलाई गाली गलौज गरेकाले उनीहरुमाथि पार्टीको विधान बमोजिम कारवाही गरिनुपर्ने सिफारिश पत्रमा उल्लेख गरिएको छ ।

गएको भदौ ३ गते नगर इन्चार्ज मीनराज गिरी अध्यक्षतामा बसेको विस्तारिक बैठकले प्रचार प्रसार विभाग प्रमुख भाट लगायतका नेताहरुमाथि कारवाहीका लागि माग गर्ने निर्णय गरेको थियो । स्थानीय तहको निर्वाचनमा पार्टी विरुद्ध अन्तरघात गर्ने व्यक्तिलाई नै आशन्न प्रतिनिधि सभाको निर्वाचनमा टिकट दिन लागेको भन्दै असन्तुष्ट पक्षले विस्तारित बैठकको निर्णयहरु विभिन्न सञ्चार माध्यमलाई उपलब्ध गराएका छन् ।

नेता लेखराज भट्टका सहयोगि भाटलाई कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवार बनाइने सम्भावना बढेपछि माओवादी कञ्चनपुरभित्र विवाद चर्किएको छ ।

Facebook Comments

सम्बन्धित समाचार