• होमपेज
  • Uncategorized
  • नारायणगढ – मुग्लिन सडक खण्डमा नयाँ कालोपत्रे गर्ने काम सुरु

नारायणगढ – मुग्लिन सडक खण्डमा नयाँ कालोपत्रे गर्ने काम सुरु

  • आइतवार, अशोज २२, २०७४
नारायणगढ – मुग्लिन सडक खण्डमा नयाँ कालोपत्रे गर्ने काम सुरु

चितवन,असोज २२ –

निर्माणाधिन नारायणगढ -मुग्लिन सडक खण्डमा नयाँ कालोपत्रे गर्ने काम सुरु भएको छ । करिव ३४ किलोमिटर लामो सडक खण्डमा अहिलेसम्म ७ किलोमिटर नयाँ पिच निर्माण भैसकेको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

आयोजनाको आँपटारीदेखि दासढुंगासम्मको निर्माणको जिम्मा पाएको भारतीय बिएलए तथा नेपाली श्रेष्ठ कम्पनीले आँपटारीबाट ४ किलोमिटर सडक पिच (कालोपत्रे) गरेको छ ।

दासढुंगादेखि सिमलतालसम्म निर्माणको ठेक्का पाएको उड्हिल लामा जेभीले ३ किलोमिटर सडक पिच गरेको छ ।

यस्तैं, सिमलतादेखि मुग्लिनसम्मको सडक निर्माण जिम्मा पाएको सुप्रिम रौताहा निर्माण कम्पनीले ३ सय मिटर सडक पिच गरेको छ ।

आयोजनाले सडक पिच गर्नका लागि आवश्यक पर्ने सबै खालको तयारी र मालमेटेरियल्सहरु ८० प्रतिशत स्टक गरिसकेको जनाएको छ ।

कालोपत्रे गर्न धेरै कामदार चाँहिदैन । आँपटारीदेखि १६ किलो भन्ने स्थानसम्म ११ मिटर चौडा र १६ किलोदेखि मुग्लिनसम्म ९ मिटर चौडा सडक बिस्तार गर्ने योजना छ । ‘यो मौसम सडक निर्माण र पिच गर्नका लागि उपर्युक्त छ, तर यतिबेला नै चाडपर्व र निर्वाचन भएका कारणले कामको गति बढाउन सकिएको छैन’ आयोजनाका सूचना अधिकारी इन्जिनियर खनालले भने ।

यतिबेला सडकमा यात्रुवाहक सवारीको चाप अधिक छ । दशैंको बेलामा राजधानीबाट बाहिरीएका यात्रुहरु भित्रिने क्रम रहेकोले सवारी चाप सडकमा बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । ‘तिहार, छठ र निर्वाचन जस्ता ठूला पर्व र कार्यक्रम रहेकोले बाँकी अवधिमा पनि काम गर्न सजिलै पाइने देखिएको छैन’ आयोजनाका इन्जिनियर खनालले थपे ।

आयोजनाको हालसम्म जम्मा ५६ प्रतिशत मात्रै काम सकिएको छ । तेस्रो पटक थपिएको म्याद सकिन करीव ३ महिना मात्रै बाँकी रहदा ३४ प्रतिशत काम हुन सक्ने देखिदैन ।

तीन वटै ठेकेदारको म्याद सन् २०१८ को फेव्रुअरी २० मा सकिने छ ।

नारायणगढको आँपटारीदेखि मुग्लिनसम्म ३३.२ किलोमिटर दूरी छ । यो दूरी पार गर्न सडक निर्माणपछि ३६ मिनेट लाग्ने अनुमान छ । सडकखण्डमा बन्ने पुलका कारणले ३ सय ५० मिटर छोटो बन्नेछ ।

फेरी पनि म्याद थप्न ठेकेदारहरुले दवाव दिदैछन् । बैशाखसम्म निर्माण पूरा गर्न नसके ठेकेदारले पेनाल्टी तिर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

दुई वटा ठेकेदारले बैंशाखसम्म काम सकेपनि मुग्लिन तर्फको निर्माणको जिम्मा पाएको ठेकेदारले भने काम सक्ने विश्वास आयोजना स्वंयलाई छैन ।

८ सय मिटर पहाड काट्न बाँकी !

नारायणगढ-मुग्लिन सडकखण्डको ठेक्का सम्झौताको तेस्रो पटक थपिएको म्याद सकिन ६ महिना बाँकी रहँदा ८ सय मिटर पहाड काट्न अझै बाँकी नै रहेको छ ।

सडकखण्डको १६ किलोभन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी नै छ । यो क्षेत्र सबैभन्दा जोखिम भएका स्थान हो ।

आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी शिव खनालले भने ‘सबैभन्दा बढि कष्ट र इर्फोट लगाउनुपर्ने ठाँउ नै यिनै हुन, मिठो मिठो खाइयो अव तितो तितो भाग बाँकी छ ।’

घुमाउने भन्ने स्थानमा सवारी नरोकी काम गर्न नै नसकिने खनालको भनाई छ ।

ठूला ठूला अग्ला पहाड र कडा चट्टान भएकाले यहाँ काम गर्न जोखिम छ ।

विश्व बैंकको २ अर्ब ९० करोड रुपैयांको आर्थिक सहयोगमा २०७२ बैशाखबाट यो सो सडक निर्माणको काम थालिएको हो ।

एसियन हाइवे अन्तर्गतको एएचटू खण्ड अन्तर्गत नारायणगढ-मुग्लिन सडकखण्ड पर्दछ । चीन हुंदै नेपालको कोदारी, काठमाडौं, नागढुंगा-नौबिसे, मुग्लिन-नारायणगढ, हेटौडा र वीरगन्जबाट भारतको मुजफरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो ।

Facebook Comments

सम्बन्धित समाचार