बाजुरा, असोज १९–
नेपाली काँग्रेस बाजुराले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि काँग्रेसले बुधबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको पार्टी सभापति कविराज पण्डितले बताउनुभएको छ ।
सिफारिस गरिएको सूचीमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कविराज पण्डित, देवराज जोशी, बद्रीप्रसाद पाण्डे र रामसिंह रावलको नाम छ । यीमध्ये बद्रीप्रसाद पाण्डे अहिले पनि व्यवस्थापिका–संसद् सदस्य र कविराज पण्डित जिल्ला पार्टी सभापति हुनुहुन्छ । त्यस्तै, देवराज जोशी पूर्व सांसद हुनुहुन्छ भने रामसिंह रावल त्रिवेणी नगरपालिकाका नगर प्रमुख हुनुहुन्छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ जुनाकुमारी दानी, निर्मलाकुमारी रावल, विद्यादेवी तिमिल्सेना, महा सनाई (नेपाली) र होमनाथ जोशीको नाम सिफारिस भएको छ । तीमध्ये दानी महिलासंघ केन्द्रीय सदस्य, महा सनाई नेपाली, पूर्व समानुपातिक सांसद र होमनाथ जोशी जिल्ला हुलाक कार्यालय बाजुराका पूर्वप्रमुख हुनुहुन्छ ।
यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट जनकराज गिरीको मात्र नाम सिफारिस गरिएको छ । प्रदेशसभाको निर्वाचन क्षेत्रमा भने गिरी एक्लो उम्मेदवार बनेका हुन् । निर्वाचन क्षेत्र नम्वर १ मा समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरिएको छ ।
तीमध्ये अरुणकुमार शाही, ऐनबहादुर मल्ल, नरवीर कामी, निर्मलाकुमारी रावल, विद्या तिमिल्सेना, मनमती बूढा, रीता सिंह, साइमल लुहार, सुभद्रा भण्डारी ९पाण्डे० र शिव बोहरा रहेको पार्टी प्रवक्ता नरबहादुर शाहीले जानकारी दिनुभएको छ ।
यसैगरी, प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर २ मा ६ जनाको नाम रहेको छ जसमध्ये चक्रबहादुर शाह, जुनाकुमारी दानी, पदमबहादुर शाही, मनबहादुर रावल, मीनबहादुर धामी र रङबहादुर खातीको नाम सिफारिस गरिएको प्रवक्ता शाहीले बताउनुभयो । यसैगरी, प्रदेशतर्फ समानुपातिकमा १६ जनाको नाम केन्द्रमा पठाइएको छ ।
अमृताकुमारी सिंह, आनन्द मिजार, उमा रोकाया, ओमकार बोगटी भोटे, कौशल विक, खडक साउद, दिपादेवी बोहरा, धनराज पण्डित, पदमबहादुर नेपाली, पुने सार्की, वीरभाने विक, रनसिंहबहादुर अयडी, राधिकाकुमारी शाही (सिंह), सिर्जना ऐडी र शेरबहादुर खातीको नाम केन्द्रमा सिफारिस भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिफारिस भएका उम्मेदवारमध्ये जुनाकुमारी दानी, विद्यादेवी तिमिल्सेना र निर्मला रावलले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएको पाइएको छ । दुवै ठाउँमा उम्मेदवारी दिन नपाइने भएपनि जबर्जस्ती उम्मेदवारी दिएको नेपाली काँग्रेसले जनाएको छ ।
यसैगरी, प्रतिनिधिसभामा पनि नगरपालिका प्रमुख बनेका रामसिंह रावलले पनि प्रत्यक्षको लागि उम्मेदवारी दिएको बताइएको छ ।
आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)आन्तरिक छलफलमा रहेका छन् । एमाले माओवादीबीच ६०÷४० को भागबण्डा भएपनि उनीहरु आआफ्नै उम्मेदवारको नाम पठाउने तयारीमा रहेका छन् ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि सुस्ताएको राजनीतिक चहलपहल बाजुरामा फेरि बढ्दै गएको छ ।