• होमपेज
  • समाचार
  • अमरापुरी महोत्सव आजबाट सुरु, पाँच करोड आम्दानी गर्ने लक्ष्य

अमरापुरी महोत्सव आजबाट सुरु, पाँच करोड आम्दानी गर्ने लक्ष्य

  • मङ्लबार, अशोज ३, २०७४
अमरापुरी महोत्सव आजबाट सुरु, पाँच करोड आम्दानी गर्ने लक्ष्य

श्रीधर उपाध्याय,

गैँडाकोट, असोज ३–

“युवाहरुको आह्वान आगन्तुक पर्यटकलाई सम्मान” नाराका साथ ऐतिहासिक अमरापुरी महोत्सव आज मंगलबारबाट सुरु हुँदैछ । अमरापुरी १६ नम्बर चोक शिवालय मन्दिरबाट बिहान १० बजे महोत्सवको शोभायात्रा निश्किएको थियो ।

र्‍यालीमा एकसय भन्दा बढी संघसंस्थाको सहभागिता रहेको शोभायात्रामा हजारौँ स्थानीयको उपस्थिति रहेको थियो । स्थानीय रेन्बो युथ क्लबको आयोजनामा महोत्सव सुरु भएको हो । लक्ष्मी उच्च माविको प्राङ्गणमा सुरु भएको महोत्सवको सिंचाइ मन्त्री सञ्जय कुमार गौतमले समुद्घाटन गर्नुभयो ।

नेपालीहरुको महान चाड बडादशैँको पूर्व सन्ध्यामा आयोजना गरिएको अमपुरी महोत्सवको एक लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । व्यावासायिक रूपमा राखिएका स्टल, टिकटबाट करिब ५ करोड आम्दानी गर्ने क्लबको उद्देश्य रहेको छ । समुद्घाटनको पहिलो दिन निःशुल्क रुपमा अवलोकन गर्न पाइने छ । बुधबारबाट टिकट लाग्ने उपाध्यक्ष जीवन पौडेलले बताउनुभयो । पौडेलका अनुसार सर्वसाधारणका लागि ५० रुपैँया, विद्यार्थीका लागि ३० रुपैँया, अपांग भएका र ज्येष्ठ नागरिकले परिचय पत्र देखाएमा निःशुल्क अवलोकन गर्न पाइने व्यवस्था मिलाइएको छ । समुद्घाटनका दिन स्थानीय कलाकारहरुको नृत्य तथा गायनका प्रस्तुति रहनेछन् ।

महोत्सवमा व्यावसायिक प्रवद्र्धनका लागि एक सय स्टल, कृषि तथा अन्य प्रदर्शनीका लागि १५ स्टल रहेका छन् । महोत्सवको मूख्य आकर्षणका रुपमा प्रचार गरिएको ९ फिट अग्लो दुर्गाको मूर्ति घटस्थापनाको दिनदेखि मात्रै अवलोकन गर्न सकिने उपाध्यक्ष पौडेलको भनाइ छ ।

अमरापुरीको लक्ष्मी उच्च माविको खेल मैदानमा सुरु महोत्सवमा स्थानीय उत्पादनको जानकारी, उत्पादित वस्तुको प्रवद्र्धन, कला संस्कृतिको जगेर्नालाई प्रमुख जोड दिने महोत्सव मूल समारोह समितिका संयोजक विवेक न्यौपानेले बताउनुभयो ।

महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति रहनेछ । लोकदोहोरी क्षेत्रका गायक प्रजापति पराजुली, पशुपति शर्मा, शिव परियार, रमेशराज भट्राई, इन्दिरा जोशी, आस्था राउत, कमल खत्री, सुनिल गिरी, दीपक खड्का, चिरञ्जीवी भण्डारी, ढाकाराम पौडेल, राजेन्द्र कँडेल, कर्णराज गिरी, रमेश श्रेष्ठ, पाँडे र जिग्री ब्रो, दिनेश काफ्ले, दिनेश थापा, उमा खनाल, एसएसएस ब्यान्ड, ज्योति मगर लगायतका दुई दर्जनभन्दा बढी कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

यस्तै चर्चित जादुगर बलराम सरकारको पनि उत्कृष्ट जादुगरी हेर्न पाइने छ । महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ पत्रकारहरुबीच पानी पिउने प्रतियोगिता, महिलाहरुबीच हुने दुनाटपरी गाँस्ने प्रतियोगिता, अन्तरस्कुल वक्तृत्व कला प्रतियोगिता, भजन प्रतियोगिता, अमरापुरी डान्स आइडललगायतका मनोरञ्जनात्मक प्रतियोगिता हुने संयोजक विवेक न्यौपानेले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार