• होमपेज
  • Uncategorized
  • प्रदेश नं.२ मा शान्तीपूर्ण रुपमा मतदान सुरु, मतदाताहरुको उत्साहजनक सहभागिता

प्रदेश नं.२ मा शान्तीपूर्ण रुपमा मतदान सुरु, मतदाताहरुको उत्साहजनक सहभागिता

  • सोमवार, अशोज २, २०७४
प्रदेश नं.२ मा शान्तीपूर्ण रुपमा मतदान सुरु, मतदाताहरुको उत्साहजनक सहभागिता

बारा, असोज २–

प्रदेश नं.२ अन्तरगतका आठ जिल्लामा विहानदेखि मतदान सुरु भएको छ ।

तेस्रो चरणमा भईरहेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएपछि मतदाताहरु ढुक्क भएर मतदान गर्न पुगेका छन् । बारा जिल्लामा पनि मतदाताहरुको उत्साहजनक सहभागिता रहेको हाम्रा सहकर्मी दुष्यन्त चौधरीले जनाएका छन् । उनका अनुसार गयराती भएको वर्षाले करैयामाई गाउँपालिकालगायतका केही मतदान स्थलमा मतदानमा ढिलाई भएपनि अधिकांशस्थलमा शान्तपूर्ण रुपमा निर्वाचन भईरहेको छ । बाराको गढीमाई नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा)का प्रमुखका उम्मेद्वार रामचन्द्र शाहले मतदान गरि निर्वाचन प्रक्रियाको सुरुवात गरेका छन् ।

बारा जिल्लामा १६ स्थानीय तह रहेका छन् भने ३ लाख ३४ हजार ७ ४६ मतदात निर्वाचनमा सहभागि हुँदैछन् । बारामा ३०३ वटा मतदान स्थल रहेको छ भने ४५८ मतदान केन्द्र रहेका छन् ।

यस्तै प्रदेश नंं.२ का पर्सा जिल्लामा पनि विहान ७ बजेदेखि नै शान्तपूर्ण रुपमा मतदान कार्य भईरहेको छ । केही स्थानमा भने वर्षाको कारणले सामान्य समस्या उत्पन्न भएको हाम्रा सहकर्मी प्रदीप मल्लले जनाएका छन् । यस्तै प्रदेश नं.२ कै एक मात्र महानगर वीरगञ्जमा पनि मतदान जारी छ । वीरगञ्ज महानगरपालिकामा कुल  २ लाख ३३ हजार ६९४ मतदाता रहेका छन् । पर्सा जिल्लामा एक महानगर, ३ नगरपालिका र १० गाउँपालिका गरि १४ वटा स्थानीय तह रहेका छन् ।

आजको निर्वाचनमा प्रदेश नं.२ का आठ जिल्लाका १३६ स्थानीय तहमा ६ गुणाभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगको तथ्यांक छ । तीमध्ये महिला १४ हजार ३३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (६१ प्रतिशत) को उम्मेदवारी कायम छ ।

यस निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ ।

नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी परेको छ । नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ ।

नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार रहेको आयोगले जनाएको छ । वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा छन् ।

निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ ।

मतदानको समयमा अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत संकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेत गर्न सक्नेछन् । यसरी मत संकेत गर्दा मतदाताको इच्छाविपरीत नहुने आयोगको विश्वास छ ।

२ हजार बढी पर्यवेक्षक

आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नम्बर दुईका जनकपुर, बर्दिबास, बीरगन्ज र सिमरामा मतदानको दिन पर्यवेक्षण भ्रमण गर्न सक्ने व्यवस्था मिलाइएको प्रमुख आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार