• होमपेज
  • समाचार
  • मतदाताको घरघरमै नयाँ नोट

मतदाताको घरघरमै नयाँ नोट

  • सोमवार, अशोज २, २०७४
मतदाताको घरघरमै नयाँ नोट

काठमाडौं, असोज २–

शुक्रबार राति १२ बजेदेखि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई चुनौती दिँदै राजनीतिक दलले ‘मौन अवधि’ भित्र तराई–मधेसका ८ जिल्लामा विभिन्न बहानामा मतदातालाई प्रभावित गर्ने प्रयास जारी राखे। मतदानको अघिल्लो दिन असोज १ गते त दलहरूले विश्वकर्मा पूजाको बहानामा गाउँ, टोललाई भोजभतेर नै खुवाए। यो खबर चिरञ्जीवी ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन्।

कतिपय उम्मेदवारले त मतदाताको घरघरमै नयाँ नोटको बिटो पनि पुर्‍याउन भ्याए। राष्ट्र बैंकले दसैंका अवसरमा साटेको करिब १६ अर्ब रुपैयाँमध्ये एक सय, पाँच सय र एक हजार दरका नयाँ नोट तराई(मधेसका मतदातालाई स्थानीय तहका उम्मेदवारमार्फत दिएको दाबी स्रोतले गरेको छ। मधेस स्वायत्त प्रदेश र आत्मनिर्णयको अधिकारको मुद्दा स्थापित गरौं भन्दै १३ महिने आन्दोलन र ७ महिने भारतीय नाकाबन्दी, संविधान निर्माणदेखि दोस्रो संशोधनसम्मको मुद्दालाई आन्दोलनकै रूपमा लिएर जनताबीच होमिएको राजपाले मौन अवधिको दुरुपयोग रोक्न भन्दै आइतबार राति खबरदारी अभियान नै सञ्चालन गर्‍यो।

राजपा महासचिव मनीषकुमार सुमनले आइतबार रातभर ८ जिल्लाका १ सय ३६ स्थानीय तहमै ‘जाग्राम’ अभियानअन्तर्गत कार्यकर्ता परिचालन गरेको जानकारी दिए। उनले भने, ‘हाम्रो योजना प्रमुख तीन ठूला दल र सिंहदरबारमार्फत हुने चन्दा, पुरस्कार, उपहार र दान दक्षिणा रोक्नु हो।’

जात, धर्म, संख्या हेरी ठूला दलले खसी, राँगा, कुखुरा, सुँगुर, बंगुरको मासुसमेत बाँडेको आरोप सुमनले लगाए। दूधको प्याकेटमा रक्सी भर्दै परिवारको संख्याअनुसार एकदेखि पाँच लिटर वितरण गरिएको जानकारी उनले दिए।

संघीय समाजवादी फोरम नेपालका सांसद लालबाबु यादवले पर्सामा ठूला दलले मौन अवधिको दुरुपयोग गर्दा ठाउँठाउँमा निगरानी गर्नुपरेको बताए। आचारसंहिता पालना गराउने कुनै संयन्त्र नहुँदा चुनावमा ठूला दलले मतदातालाई भोजभतेर र रकम बाँडेको सयौं प्रमाण रहेको दाबी उनले गरे।

लोकतान्त्रिक फोरम नेपालका सांसद मोहम्मद मुस्ताक आलमले रौतहटमा प्रमुख तीन दलले मौन अवधिको रेकर्ड नै ब्रेक गरेको आरोप लगाए। प्रमुख तीन दलले जे(जसरी अन्य पार्टीका नेता(कार्यकर्तालाई स्थानीय तहको उम्मेदवारको टिकट दिँदै पार्टी प्रवेश गराए, त्यसैगरी मौन अवधिको दुरुपयोग गरेको आरोप उनले लगाए। जाँड रक्सी, सारी, कुर्ता, माछा, मासु दान दक्षिणा आदानप्रदान सामान्य रहेको उनले बताए। माओवादी केन्द्रका सचिवालय सदस्य एवं सहरी विकासमन्त्री स्वयं मौन अवधिलाई विकृतिका रूपमा परिणत गर्न लागिरहेको आरोप उनको थियो।

राजपाका अर्का सांसद केदारनन्दन चौधरीले सर्लाही मात्र आइतबार दिउँसो काठमाडौंबाटै दुई ट्रक रक्सी कुनै एक दलले ल्याएको जानकारी दिए। राजपा जनमतको सम्मान गर्ने पार्टी भएकाले मौन अवधिलाई मौन रूपमै लिइरहेको बताए। संसद्मा मधेसको भावनाअनुसार संविधान संशोधन नहुने र प्रदेश नं। २ मा राजपालाई पराजित गर्न हरेक प्रकारका हथकण्डा अपनाउने ठूला दलको विरोधमा पुनः आन्दोनलको विकल्प नरहेको उनले बताए।

Facebook Comments

सम्बन्धित समाचार