• होमपेज
  • Uncategorized
  • आज तेस्रो चरणको मतदान, आठ जिल्लाका १३६ स्थानीय तहमा साढे छ हजार जनप्रतिनिधि छानिँदै

आज तेस्रो चरणको मतदान, आठ जिल्लाका १३६ स्थानीय तहमा साढे छ हजार जनप्रतिनिधि छानिँदै

  • सोमवार, अशोज २, २०७४
आज तेस्रो चरणको मतदान, आठ जिल्लाका १३६ स्थानीय तहमा साढे छ हजार जनप्रतिनिधि छानिँदै

काठमाडौँ, असोज २ –

निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले सोमबार बिहान सात बजेदेखि अपराह्न पाँच बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको र मतदाता उत्साहपूर्वक मतदानका लागि पर्खाइमा रहेको बताउनुभयो । प्रदेश २ का मतदातालाई मतदानमा सरिक हुन आह्वान गर्नुहुँदै प्रमुख आयुक्त यादवले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरिएको बताउनुभयो ।

प्रदेश २ का विभिन्न जिल्लाको भ्रमणबाट आइतबार नै काठमाडौँ फर्कनुभएका डा.यादवले प्रदेश २ का मतदाता मतदानका लागि ज्यादै उत्सुक रहेको र निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको जानकारी समेत आयोगको पत्रकार सम्मेलनमा दिनुभयो । उहाँले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई अपिल पनि गर्नुभयो ।उहाँले सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट मतदाताको मताधिकार कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा आयोग विश्वस्त रहेको बताउनुभयो ।

प्रमुख आयुक्त यादवले भन्नुभयो, ‘सीमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित घुसपैठ रोक्न आयोगले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको छ । ’ उहाँले अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्र रूपमा विवेकपूर्ण निर्णय गरेर गोप्य रूपले प्रदान गर्न समेत आग्रह गर्नुभयो ।

सोमबार प्रदेश २ का आठ जिल्लाका १३६ स्थानीय तहमा मतदान हुँदैछ । निर्वाचनका लागि दुई हजार १६६ मतदानस्थलमा तीन हजार ५७८ मतदान केन्द्र बनाइएको । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय जना कर्मचारी परिचालन गरिएको छ ।

छ गुणा बढी उम्मेदवार प्रतिस्पर्धामा

एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ भने त्यहाँका २६ लाख ६४ हजार ९५० मतदाताले मताधिकारको प्रयोग गर्दैछन् । निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् भने निर्वाचनमा कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

उम्मेदवारमध्ये महिला १४ हजार ३३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (९६१ प्रतिशत) को उम्मेदवारी कायम रहेको छ । यस निर्वाचनमा आठ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नु भएको छ । नगरप्रमुख तथा अध्यक्षमा एक हजार ७०९ पुरुष र ६१ जना महिलाको मात्रै उम्मेदवारी छ ।

आयोगका अनुसार, नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार हुनुहुन्छ । वडाध्यक्षमा आठ हजार ५२ जना पुरुष र २२३ जना महिला उम्मेदवारहरू निर्वाचनको मैदानमा हुनुहुन्छ ।

नागरिकताबाट पनि मतदान

निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा भोलि हुने निर्वाचनमा मतदाताले कुनै कारणवशः फोटोसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न वैकल्पिक व्यवस्था गरेको छ ।
नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको छ ।

आयोगले मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रमुख आयुक्त यादवले नाम ढाँटेर अर्को मतदाताको नाममा मतदान नगर्न अपिल गर्दै कसैले त्यस्तो गैरकानुनी कार्य गरे कानुनबमोजिम कारबाही गर्ने चेतवानी पनि दिनुभयो ।

अशक्तलाई विशेष व्यवस्था

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतलाई आयोगले निर्देशन दिएको प्रमुख आयुक्त यादवले बताउनुभयो ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफै मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

दुई हजारभन्दा बढी पर्यवेक्षक

आयोगले सोमबार हुने निर्वाचनको पर्यवेक्षणका लागि पर्यवेक्षणका लागि ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । यस्तै, पहिलो र दोस्रो चरणमा जस्तै तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नम्बर दुईका जनकपुर, बर्दिबास, वीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्न सक्ने छन् ।

आचारसंहिताको पालना सन्तोषजनक

पत्रकारहरूको एक जिज्ञासाको जवाफ दिँदै प्रमुख आयुक्त यादवले आचारसंहिताको पालनामा शतप्रतिशत नभए पनि सन्तोषजनक रहेको र कतै पनि भित्ते लेखन तथा तोकिएभन्दा ठूला आकारमा तुल ब्यानरको प्रयोग नभएको जानकारी दिनुभयो । आचारसंहिता उल्लङ्घनका एकाध घटना भएको स्वीकार गर्दै प्रमुख आयुक्त यादवले कतिपय ठाउँमा बालबालिकाको प्रयोग भएको बताउनुभयो ।

मतपेटिका जम्मा भएपछि मतगणना

मतदानको कार्य सम्पन्न भई मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि राजनीतिक दलहरूसँग समन्वय गरी यथाशक्य छिटो मतगणना सुरु हुने आयोगले जनाएको छ । भरतपुरमा मतगणना हुँदा मतपत्र च्यातिएको घटनालाई सङ्केत गर्दै प्रमुख आयुक्त यादवले सम्बोधनका क्रममा भन्नुभयो, ‘विगतका घटनाक्रमलाई समेत ध्यानमा राखी मतगणना कार्यलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतगणनामा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीकोे सहयोगात्मक भूमिका रहनेछ ।

Facebook Comments

सम्बन्धित समाचार