• होमपेज
  • समाचार
  • काष्ठमण्डपको पुनःनिर्माण कार्य अझै हुन सकेन

काष्ठमण्डपको पुनःनिर्माण कार्य अझै हुन सकेन

  • आइतवार, अशोज १, २०७४
काष्ठमण्डपको पुनःनिर्माण कार्य अझै हुन सकेन

काठमाडौँ,असोज १ –

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप (मरु सतः) को पुनःनिर्माण कार्य अझै शुरु हुन सकेको छैन ।

विश्वलाई नै नेपालको छुट्टै परिचय दिलाउने काष्ठमण्डप झण्डै एक हजार ३०० वर्ष पुरानो रहेको छ । काष्ठमण्डपको क्षतिग्रस्त भएसँगै काष्ठमण्डपलगायत यो र योसँग जोडिएको अमूर्त सम्पदा पनि ध्वस्त भएको थियो ।

काष्ठमण्डप पुनःनिर्माण अभियानले झण्डै डेढ वर्षदेखि जनस्तरबाट नै काष्ठमण्डपको पुनःनिर्माण अभियानमा जुटिरहेको छ ।

रासससँग कुरा गर्दै काष्ठमण्डप पुनःनिर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले काष्ठमण्डपको पुनःनिर्माण कार्य जनस्तरबाट नै हुनुपर्ने आफ्नो स्पष्ट अडान रहेको तथा विदेशी मुलुकबाट धन ल्याएर यसको निर्माण गर्ने सम्बन्धमा आफ्नो विमति रहेको बताउनुभयो ।

काष्ठमण्डप पुनःनिर्माणका लागि करोडौँ रुपैयाँ लाग्न सक्छ यो जनस्तरबाट उठाउन सक्छ कि सक्दैन भन्ने जिज्ञासा राख्दा उहाँले भन्नुभयो, “काष्ठमण्डप पुनःनिर्माणका लागि जनताबाट मज्जाले पैसा उठ्नेछ ।” यसमा चिन्ता गर्नुपर्ने आवश्यकता छैन । यसको पुनःनिर्माणका लागि विदेशबाट पैसा नलिने प्रतिबद्धता अभियानको छ ।

काष्ठमण्डपको स्थितिमा उहाँले थप्नुभयो, “काष्ठमण्डपभित्रको जग एक हजार ३०० वर्ष पुरानो छ । यसमा रहेको चारवटा पिलर (खम्बा) एक हजार वर्ष पुरानो छ । उत्खननका क्रममा मिलेकोे समयकाल र सातौँ शताब्दीमा काष्ठमण्डपको निर्माण कार्य लीलाबज्रले निर्माण गरेको भनी थ्यासफूमा उल्लेख भएको भनी बौद्धविद्वान यज्ञमानपति बज्राचार्यको भनाइ अध्ययनका क्रममा मिल्न आएकाले यसलाई आधार मानिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अर्को प्रसंगमा उहाँले काठमाडौँ महानगरपालिकासँग दक्ष जनशक्ति नभएको र पुरातत्व विभागले उपलब्ध गराएको नक्सा पनि काष्ठमण्डपको पुनःनिर्माणका लागि पर्याप्त नभएकाले परम्परागत वास्तुकलालाई मिश्रण गरेर तथा जनता तथा स्थानीय बासिन्दाको राय, सल्लाह लिई तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यसको विरोध मात्र आफूहरुले गरिरहेको बताउनुभयो ।

श्रेष्ठले काठमाडौँ महानगरपालिका तथा पुरातत्व विभागसँग पनि सहकार्य गर्ने आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो ।

सो अभियानअन्तर्गत उडाय समाज, राजकर्णीकार समाज तथा नेपाल मण्डलसहित थुप्रै संस्थासँग मिलेर नेवा सभ्यताको प्रतीक काष्ठमण्डपको पुनःनिर्माण अभियानमा विदेशी पैसाबिना नै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार