• होमपेज
  • समाचार
  • प्रचण्डले जनप्रतिनिधिलाई भनेः अहंकारले हामी तेस्रो भयौँ, दम्भ नदेखाइ काम गर्नुस्

प्रचण्डले जनप्रतिनिधिलाई भनेः अहंकारले हामी तेस्रो भयौँ, दम्भ नदेखाइ काम गर्नुस्

  • शनिबार, भदौ ३१, २०७४
प्रचण्डले जनप्रतिनिधिलाई भनेः अहंकारले हामी तेस्रो भयौँ, दम्भ नदेखाइ काम गर्नुस्

काठमाडौं,भदौं ३१-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वास्तविक लोकतन्त्र रुकुममा आएको बताएका छन्। प्रचण्डले पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको रुकुमकोटमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। यसअघि रुकुमका सबै स्थानीय तहमा माओवादी विजयी भएपछि एमाले अध्यक्ष केपी ओलीले रुकुममा अझै लोकतन्त्र आइनसकेको बताएका थिए।

ओलीको भनाइप्रति लक्ष्य गर्दै प्रचण्डले भने, ‘केही समय पहिले एउटा दलका ठूलै नेताले रुकुममा लोकतन्त्र अझै आएको छैन भन्नुभयो तर म भन्छु, रुकुममा असली लोकतन्त्र आएको छ।’ उनले पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी रहेको माओवादी केन्द्र आफ्नै अहंकारले तेश्रो बनेको बताए।

‘जनयुद्धमा जनताकाबीचमा हामी थियौँ, उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौँ, शान्ति प्रक्रियामा आइसकेपछि संगठनले जसरी जनताका बीचमा जानुपर्ने हो, त्योअनुरुप जान सकिएन, फलस्वरुप स्थानीय तहको चुनावमा सन्तोषजनक परिणाम आएन, तर पनि हाम्रो एजेण्डाले जितेको छ,’ उनले थपे।

‘अब काँग्रेस, एमालेले जिते पनि संघीयता खारेज गर्छु भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘एकपछि अर्को विभाजनको प्रक्रियाबाट पार्टी गुज्रिएकाले पनि जनतामा निराशा हुनसक्ने भएकाले अब सबै माओवादी शक्ति मिल्नुपर्ने समय आएको छ।’ उनले रुकुमेली जनताले सिङ्गो नेपाललाई उत्साहित बनाएको बताउँदै जनप्रतिनिधिलाई दम्भ नदेखाउन पनि सल्लाह दिए।

‘हामीले चलाएको जनसत्ताको वैधानिक रुप नै अहिलेको स्थानीय सरकार भएको छ, कसैले माने पनि नमाने अहिलेको स्थानीय तह हिजोका जनसत्ता नै हुन्, तपाईहरु राम्रोसँग बुझ्नुहोला, अनि काम पनि त्यसरी नै गर्नुहोला,’ प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरे। पछिल्लो समयमा मधेश, तराई, पहाड र हिमाल सबैतिर माओवादी केन्द्रमा फर्कनेको ठूलो लहर रहेकाले अब हुने निर्वाचनमा यो ठूलो पार्टी हुने उनको तर्क थियो।

अध्यक्ष प्रचण्डले पूर्वी रुकुमको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने वाचा पनि गरे। रासस

Facebook Comments

सम्बन्धित समाचार