हेटौंडा, भदौं ३०–
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री बालकृष्ण खाँडले एमाले र अध्यक्ष केपी शर्मा ओली नक्कली राष्ट्रवाद देखाएर देश विखण्डन गर्न लागिपरिरहेको आरोप लगाउनुभएको छ ।
नेपाली काँग्रेस मकवानपुरको जिल्ला भेला एवं बृहत दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै खाँडले एमाले र त्यसका नेताले हिमाल र तराईको सिमा रक्षा गरेको नभई त्यहाँकै बासिन्दाले गरेकाले जथाभावी बोल्दै नहिड्न चेतावनी दिनुभएको छ ।
काँग्रेस जहिल्यै राष्ट्रियताको पक्षमा उभिने पार्टी भएकाले एमालेले गरेको झुठ खेतिको पर्दाफास गर्दै काँग्रेसले गरेको कामको जनतामा प्रचार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
राजा, राणा र पञ्चायतले जब जब काँग्रेसको अस्तित्व स्वीकारेनन् तवतव पतन भएको ईतिहाँस रहेको बताउँदै पूर्व रक्षा मन्त्री खाँडले एमाले र माओवादीले पनि काँग्रेसको अस्तित्व नस्वीकारे आफैं पतन भएर जाने बताउनुभयो ।
पूर्व रक्षामन्त्री खाँडले स्थानीय निकाय चुनावमा काँग्रेसले काँग्रेसलाई नै घात गरेको कारण धेरै ठाउँमा हार ब्यहोर्नु परेको भन्दै प्रदेश र केन्द्रीय निर्वाचनमा पनि यस्ता घात गर्नेहरु देखिए गाउँ/नगर हुँदै जिल्लाबाट कारवाहीको सिफारिश आएमा जस्तै ठूला नेता भएपनि पार्टी केन्द्रले कारवाही गर्न नचुक्ने बताउनुभयो ।
एमालेको किल्ला रहेको मकवानपुरमा ७० सालको चुनावमा एक किल्ला तोडेको भएपनि अब प्रदेश र केन्द्रीय निर्वाचनमा चारै क्षेत्रमा विजयी हुन नेता तथा कार्यकर्ताहरु जोडदार रुपमा लाग्नुपर्ने बताउँदै केन्द्रीय सदस्य खाँडले नेपाली काँग्रेस मकवानपुरले हेटौंडालाई प्रदेशको राजधानी बनाउन गरेको प्रयासलाई आफूले सक्दो सहयोग र समर्थन गर्ने बताउनुभयो ।
भोली (शनिबार)सम्म चल्ने प्रशिक्षण कार्यक्रममा एमाले, राप्रपा, संघीय समाजवादी फोरम, एमाओवादीलगायतका विभिन्न पार्टी परित्याग गरी ३ सय ५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
पार्टीका सभापति एवंम पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको भेला तथा बृहत प्रशिक्षण कार्यक्रममा विशिष्ट अथिति पार्टीका केन्द्रीय सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्य एवं पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिना, नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष काविल तामाङ, निवर्तमान सभापति रघुरमण न्यौपाने, कार्यबहाक सभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, हेटौंडा उपमहानगरपालिका नगर सभापति एवं मेयरका उम्मेदवार आनन्दराम पराजुली, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडालगायतले बोल्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा जिल्लाभरीका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता गरी ११ सय भन्दा माथिको उपस्थिति रहेको थियो ।