काठमाडौँ,भदौ ३० –
पत्रकार ऋषि धमालकी मोडल श्रीमती एलिजा गौतमले केहीदिन अगाडि राजधानीमा एक कार्यक्रमका बिच फिल्म ‘अनुराग’घोषणा गरिन् । आफ्नै लगानी र अभिनयमा ‘अनुराग’ निर्माण गर्न लागेकी एलिजाले आफ्नो अपोजिटमा मोडल दीपक घिमिरेलाई अनुवन्धित गरेकी थिइन् । तर, हालैमा एलिजाको प्रोजेक्टबाट दीपकले हात झिकेका छन् ।
निर्देशक सत्यराज चौलागाईले भने, ‘हो, दीपक घिमिरे ‘अनुराग’बाट बाहिरिनु भएको छ । कुनै मनमुटावका कारण उहाँले फिल्मबाट हात झिक्नु भएको हैन । फिल्मको छायांकन सुरु हुने बेला उहाँको विभिन्न ठाउँहरुमा शोहरु भएका कारण ‘अनुराग’ गर्न नसक्ने हुनुभएको हो । अहिले हामी नायकको खोजी गरिरहेका छौ ।’ उनका अनुसार, अहिले नायक सलोन बस्नेतसँग ‘अनुराग’ का लागि कुरा भैरहेको छ ।
करीब १ करोड बजेटमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं, पोखरा र इलामा हुनेछ । छठ पर्वपछि छायांकन सुरु हुने फिल्ममा एलिजाका अलावा सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा एलिजाले अनुको भूमिका निर्वाहा गर्नेछन् ।
फिल्ममा रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र अगत केसीको पटकथा तथा संवाद रहेको छ ।