• होमपेज
  • समाचार
  • निर्वाचन खर्च घटाउन दलहरुको सुझाव,प्रमुख आयुक्त यादवले दिए चेतावनी

निर्वाचन खर्च घटाउन दलहरुको सुझाव,प्रमुख आयुक्त यादवले दिए चेतावनी

  • बिहिबार, भदौ २९, २०७४
निर्वाचन खर्च घटाउन दलहरुको सुझाव,प्रमुख आयुक्त यादवले दिए चेतावनी

काठमाडौं,भदौ २९ –

निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च र आचारसंहिताबारे राजनीतिक दलहरुसँग सुझाव संकलन गरेको छ । आयोगले बिहीबार काठमाडौंमा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरी सुझाव माग गरेको हो । निर्वाचन आयोगले राजनीतिक दललाई प्रतिनिधसभाका लागि १४ लाख रुपैयाँ र प्रदेशसभाका लागि सात लाख रुपैयाँ खर्च गर्न पाउने प्रस्ताव गरेको छ । आयोगको प्रस्तावमाथि दलका नेताहरुले सुझाव दिएका छन् ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता कार्यान्वयन र पालना गर्न राजनीतिक दलहरुको ध्यानाकर्षण गराउँदै उल्लंघन गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिए ।

नेपाली कांग्रेसका नेता डा। मीनेन्द्र रिजालले अनावश्यक तडक–भडक र अनावश्यक खर्च रोक्न आयोगले नै पहल गर्नुपर्ने बताए । उनले खर्चको सीमा व्यावहारिक हुनुपर्ने पनि बताए ।

नेकपा एमालेका नेता अग्नि खरेलले निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आयोगले आचारसंंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गर्नुपर्ने बताए ।

सामान्य नागरिक चुनाव लड्नै नसक्ने अवस्था आउन लागेको भन्दै उनले निर्वाचन खर्च घटाउन सुझाव दिए ।

साना दलका प्रतिनिधिहरुले भने ठूला दलले आचारसंहिता उल्लंघन गर्दासमेत निर्वाचन आयोग मूकदर्शक भएको आरोप लगाएका थिए । उनीहरुले राज्यबाटै दलहरुका लागि निर्वाचन खर्चको व्यवस्था गर्न सुझाव दिए ।

नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल, नयाँ शक्ति पार्टी नेपालका नेता नवराज सुवेदीलगायतले खर्चको सीमा बढ्दा आचारसंहिता उल्लंघनका घटना बढेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार