• होमपेज
  • समाचार
  • जापानलाई डुबाइदिने र अमेरिकालाई खरानीमा बदलिदिने उत्तर कोरियाको धम्की

जापानलाई डुबाइदिने र अमेरिकालाई खरानीमा बदलिदिने उत्तर कोरियाको धम्की

  • बिहिबार, भदौ २९, २०७४
जापानलाई डुबाइदिने र अमेरिकालाई खरानीमा बदलिदिने उत्तर कोरियाको धम्की

काठमाडौं,भदौं २९-

संयुक्त राष्ट्रसंघले अमेरिकाको प्रस्तावमा आफूमाथि थप नाकाबन्दी लगाएपछि उत्तर कोरियाले जापानलाई ‘डुबाइदिने’ र अमेरिकालाई खरानी र अन्धकारमा बदलिदिने’ धम्की दिएको छ। उत्तर कोरियाको अन्तर्राष्ट्रि सम्बन्ध हेर्ने प्योङयोङस्थित कोरिया एसिया–प्यासिफिक कमिटीले यस्तो धम्की दिएको हो।

सो समितिले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई ‘दुष्टहरुको साधन’ भन्दै भंग गर्न पनि आह्वान गरेको छ। ‘चार ओटा द्वीप समूहलाई जुछेको आणविक बमले समुद्रमा डुबाइदिनुपर्छ। अब जापान हामीनजिकै अस्तित्वमा रहन आवश्यक छैन,’ समितिको भनाइलाई उत्तर कोरियाली समाचार संस्था केसिएनले उधृत गरेको छ। जुछे विचारधारा वर्तमान शासक किम जोङ उनका हजुरबुबा किम इल सुङले प्रतिपादन गरेको मार्क्सवाद र राष्ट्रवाद विचारधारा हो।

‘अमेरिकी भूमिलाई खरानी र अन्धकारमा बदलिदिऔँ। अहिलेसम्म तयार रहेका सबै माध्यम प्रयोग गरी हाम्रो उत्पीडनको बदला लिऔँ,’ समितिको वक्तव्यलाई रोयटर्सले उधृत गरेको छ। सेप्टेम्बर ३ मा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको विरोधमा १५ सदस्यीय सुरक्षा परिषदबाट सो देशमाथि थप नाकाबन्दी लगाइएको थियो।

उत्तर कोरियाले दोस्रो विश्वयुद्धमा जापानले कोरियालीहरुमाथि गरेको अपराधबारे माफी समेत नमागी ‘अमेरिकाको धुनमा नाचेको’ भन्दै कडा आलोचना गरेको छ। उत्तरले दक्षिण कोरियालाई अमेरिकाको ‘द्रोही र कुकुर’ उपमा पनि दिएको छ।

उत्तर कोरियाको यस्तो वक्तव्यको जापानले कटु आलोचना गरेको छ। बिहीबार जापानका चिफ क्याबिनेट सेक्रेटरी योसिहिदे सुगाले उत्तरको यस्तो अभिव्यक्ति अस्वीकार्य हुने बताए। एजेन्सी

Facebook Comments

सम्बन्धित समाचार