• होमपेज
  • Uncategorized
  • प्रदेशमा नं.२ मा देउवा, पौडेल र कोइरालाले आजदेखि संयुक्त रुपमा प्रचार गर्ने

प्रदेशमा नं.२ मा देउवा, पौडेल र कोइरालाले आजदेखि संयुक्त रुपमा प्रचार गर्ने

  • मङ्लबार, भदौ २७, २०७४
प्रदेशमा नं.२ मा देउवा, पौडेल र कोइरालाले आजदेखि संयुक्त रुपमा प्रचार गर्ने

ललितपुर, भदौ २७–

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालाले आज भदौ २७ गतेदेखि स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नं २ का आठ वटै जिल्लाका चुनावी सभाहरुलाई संयुक्त रुपमा सम्बोधन गर्नुहुने भएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनु भएको जानकारी अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा आज २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भदौं ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल भने निर्वाचन परिचालनका लागि हिजो सोमबार नै बीपी राजमार्ग हुँदै लहान पुगीसक्नुभएको छ ।

कार्यक्रम अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालाले आज दिउँसो १ बजे सप्तरीको राजविराजमा हुने आमसभालाई संबोधन गर्नुहुनेछ । सप्तरीको संबोधन एवम् पार्टी कार्यकर्तासंगको भेटघाट पछि उहाँहरु सिरहा प्रस्थानगर्ने कार्यक्रम छ ।

सिराहा जिल्ला कार्यसमितिले आज सिरहाको जिरोमाइलमा विशाल चुनावी सभा आयोजना गर्दैछ । पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सो आमसभालाई पनि संयुक्त रुपमा संबोधन गर्ने कार्यक्रम छ । अपरान्ह ४ बजे सो आमसभालाई सम्बोधन गरेर पार्टी कार्यकर्ताहरु संग भेटघाटपछि पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा सहित काँग्रेसका शीर्ष नेताहरु जनकपुर प्रस्थान गर्नुहुनेछ । आज राती पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा सहित शीर्ष नेताहरुको मुकाम जनकपुरमा नै रहनेछ ।

शीर्ष नेताहरुले बुधबार बिहान धनुषा र महोत्तरीका पार्टी नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्नुहुनेछ ।

कांग्रेसका सभापति, वरिष्ठ नेता र महामन्त्री सहित केन्द्रीय नेताहरुले भोली २८ गते बुधबार महोत्तरीको सदरमुकाम जलेश्वरमा हुने चुनावी सभालाई संबोधन गर्ने कार्यक्रम छ । महोत्तरी कांग्रेसले जलेश्वरमा बिहान ९ बजे चुनावी सभाको आयोजना गरेको छ ।

उहाँले दिउँसो १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ ।

जनकपुरको संबोधन पछि काँग्रेसको शीर्ष नेताहरुको टोली महोत्तरीको बर्दिवास प्रस्थान गर्ने छ । बर्दिवासमा अपरान्ह ४ बजे चुनावी सभा राखिएको छ । शीर्ष नेताहरुले बर्दिबासको चुनावी सभालाई संबोधन गर्नुहुनेछ ।

भदौ २९ गते बिहिबार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उहाँहरुले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्नुहुनेछ र अपरान्ह ४ बजे रौतहटको गौरमा हुने आमसभालाई संबोधन गर्नुहुनेछ । रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि नेपाली काँग्रेसको शीर्ष नेतृत्व वीरगञ्ज प्रस्थान गर्ने कार्यक्रम छ ।

भदौ ३० गते बिहान पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले बारा र पर्साका कार्यकर्ताहरुसंग भेटघाट गर्नुहुनेछ ।

उहाँहरुले दिउँसो १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई संबोधन गर्नुहुनेछ ।

कलैयाको संबोधन पछि नेपाली कांग्रेसका शीर्ष नेताहरुले सोही दिन पर्साको बीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्नुहुनेछ ।

नेपाली काँग्रेसका जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि र चुनावी प्रयोजनका लागि जिल्ला जिल्लामा स्थापित मिडिया सेन्टरका प्रतिनिधिहरुले पठाएको समाचार अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाको आगमन तथा संबोधनले नेपाली कांग्रेसको पक्षमा अपूर्व चुनावी लहर ल्याउनमा निकै सहयोग गर्नेछ ।

मधेश विरोधी एमाले र एकापसमा मिल्न नसक्ने र मधेशी जनताको नाममा पारिवारिक रजाँइ गरिरहेको तराइकेन्द्रित साम्प्रदायिक राजनीतिक दलहरुले प्रचार अभियानलाई गतिदिन नसकेको अवस्थामा राष्ट्रिय अखण्डता, एकता र सम्पन्न तथा विकसित मधेशको कार्यक्रम सहित हुने कांग्रेसका शीर्ष नेताहरुको आगमनले प्रदेश नं २ मा नेपाली कांग्रेसलाई अध्यधिक मत र सीट सहित पहिलो पार्टी बनाउने छ ।

Facebook Comments

सम्बन्धित समाचार