• होमपेज
  • समाचार
  • बालबालिकाको वृत्तिविकासमा सरकारले ध्यान दिने : मन्त्री कोइराला

बालबालिकाको वृत्तिविकासमा सरकारले ध्यान दिने : मन्त्री कोइराला

  • शनिबार, भदौ २४, २०७४
बालबालिकाको वृत्तिविकासमा सरकारले ध्यान दिने : मन्त्री कोइराला

काठमाडौँ,भदौ २४ –

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बालबालिकाको वृत्तिविकासमा सरकारले ध्यान दिने बताउनुभएको छ । आज राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित अनाथ बालबालिकालाई शैक्षिक सामग्री तथा लत्ताकपडा वितरण कार्यक्रममा उहाँले बालबालिकाले नै भविष्यमा देश सञ्चालन गर्ने भएकाले सरकारले उनीहरुको शारीरिक तथा मानसिक वृत्तिविकासमा ध्यान दिने बताउनुभयो ।

“अहिलेका बालबालिकामा राज्यले लगानी गर्नुपर्दछ”– उहाँले भन्नुभयो, “त्यो प्रतिफल पछि देशले पाउँछ । त्यसैले सरकार बालबालिकाका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार छ ।”

उहाँले असहाय, अपाङ्गजस्ता बालबालिकालाई सरकारले एक्लै संरक्षण गर्न नसक्ने भन्दै सबैको सामूहिक प्रयासबाट मात्र उनीहरुको हेरचाह गर्न सकिने धारणा राख्नुभयो । उहाँले असहाय, गरिब, अपाङ्ग बालबालिकालाई सहयोग गर्नका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताउनुभयो ।

कार्यक्रममा मन्त्री कोइरालाले असहाय, अपाङ्ग करिब ३० बालबालिकालाई विभिन्न संस्थाबाट उपलब्ध शैक्षिक सामग्री र कपडा प्रदान गर्नुभएको थियो ।

सोही कार्यक्रममा पशुपन्छी विकास राज्यमन्त्री गोमादेवी कुँवरले अझै पनि बालबालिका सडकमा रहेकाले उनीहरुलाई त्यहाँबाट ल्याई शिक्षा, स्वास्थ्य उपलव्ध गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री यशोदाकुमारी लामाले शतप्रतिशत बालबालिकालाई शिक्षाको उज्यालो दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले अझै पनि धेरै बालबालिका शिक्षाबाट बञ्चित भएको उल्लेख गर्दै सबै बालबालिकालाई शिक्षा दिनुपर्ने बताउनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार