काठमाडौ, भदौ २४ –
दशैमा राजधानीबाहिर जाने यात्रुका लागि यातायात व्यवसायीले आगामी मंगलबार देखि टिकट बुकिङ खुल्ला गर्ने भएका छन् ।
मुलुकभर बर्षाद्को पानीका कारण बिग्रिएका सडक मर्मत गरेर सहज यातायातको व्यवस्था मिलाई सार्वजनिक सवारी साधनका छतमा सामान राख्न दिन सरकार सहमत भएपछि यातायात व्यवसायीले टिकट बुकिङ खुलाउने विषयमा सहमति जनाएका हुन् ।
सनिबार यातायात व्यवस्था मन्त्री विर बहादुर बलायरको उपस्थितिमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघका प्रतिनिधि सहितको बैठकले यस्तो सहमति जुटाएको हो ।
बैठकमा राजधानीबाट बाहिर जाने प्रमुख नाका मुग्लिङ नारायणगढ सडक खण्डमा २८ गते बाट चौबिसै घण्टा यातायात संचालन गर्ने सरकारले मिलाउने सहमति पनि भएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।