दुष्यान्त चौधरी,
बारा, भदौं २१–
प्रदेश नं.२ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आज मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । जस अनुरुप बारा जिल्लामा विहान १० बजेदेखि उम्मेद्वार मनोनयन दर्ता भईरहेको छ । अहिलेसम्ममा स–साना दल र स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका छन् भने ठूला पार्टीहरुले अझै पनि मनोनयन गर्न पुगेका छैनन् ।
अहिलेसम्ममा बाराको कलैया उपमहानगरपालिकामा नेमकिपाबाट मेयरमा रन्जुदेवी शाह, उप–मेयरमा मुक्ति यादव, स्वतन्त्रबाट मेयरमा सरल मिया, उपमेयरमा राजेशकुमार शाहले उम्मेद्वारी दर्ता गराएका छन् । ठूला पार्टीहरु तामझामका साथ उम्मेद्वारी दर्ताको लाग तयारी गरिरहेका छन् । निजगढ नगरपालिकामा राजपाबाट मेयरमा मोजहर मियाले उम्मेद्वारी दर्ता गराएका छन् ।
मनोनयन दर्ताका लागि कलैया उपमहानगरपालिकामा माओवादी केन्द्रले विहान ११ बजे, १२ बजे फोरम (लोकतान्त्रिक), १ बजे नेपाली काँग्रेस, २ बजे राप्रपा, २ः५० बजे संघीय समाजवादी फोरम नेपाल, ३ बजे राजपा र ४ बजे नेकपा एमालेलाई समय छुट्याईएको थियो । तर यस समय अनुसार दलहरु उपस्थित भएका छैनन् ।
बारामा १६ वटा स्थानीय तह रहेका छन् भने ४ सय ५८ मतदान केन्द्र र ३०३ वटा मतदान स्थल तोकिएको छ । बारामा कुल ३ लाख ३४ हजार ७ सय ४६ मतदाता रहेका छन् ।