• होमपेज
  • समाचार
  • एडीबीले चितवन देखि भारतको सिमा जोड्ने ‘चेपाङ मार्ग’ निर्माण गर्ने

एडीबीले चितवन देखि भारतको सिमा जोड्ने ‘चेपाङ मार्ग’ निर्माण गर्ने

  • मङ्लबार, भदौ २०, २०७४
एडीबीले चितवन देखि भारतको सिमा जोड्ने  ‘चेपाङ मार्ग’  निर्माण गर्ने

चितवन,भदौ २० –

एसियाली विकास बैंक (एडीबी)ले भारत सीमावर्ती ठोरीबाट चीन सीमाको रसुवागढी जोड्ने ‘चेपाङ मार्ग’को स्तरोन्नतीका लागि  लगानी गर्ने भएको छ । उक्त मार्गको ट्रयाक खुलिसकेको छ । स्तरोन्नतीका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अगाडि बढेको छ ।

अहिले उक्त मार्गको दूरि ६१ किलोमिटर छ । १० किमि घटाएर फराकिलो बनाउन केही स्थानमा ट्रयाक परिवर्तन र केहीमा सुरूङ निर्माणको तयारी छ । चितवन क्षेत्र नम्बर १ का सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेका अनुसार सन् २०१९ देखि उक्त मार्गको स्तरोन्नती सुरु हुनेछ । दुई लेनको सडक तयार पार्ने योजना छ ।

ठोरी–रसुवागढी सडकको एक अंश हो, चेपाङ मार्ग । ठोरी–रसुवागढीको दूरी एक सय ६८ किमि छ । त्यसमध्ये ६१ किमि खण्ड चेपाङ मार्गमा पर्छ । धादिङको मलेखुबाट चितवनको भण्डारासम्मको खण्डलाई चेपाङ मार्ग नामकरण गरिएको छ । अहिले मलेखुबाट मुग्लिन हुँदै नारायणगढसम्मको दूरी एक सय पाँच किमि छ । त्रिशुली नदीमाथिको भीर छिचोलेर सडक निर्माण गरिएका कारण जोखिम पनि उत्तिकै छ । चेपाङ मार्ग बनेपछि भण्डाराबाट मलेखु पुग्न ४४ किमि छोटो पर्नेछ ।

र, उक्त सडक नारायणगढ–मुग्लिन खण्डको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिने छ । छोटो दूरीका कारण समय र इन्धनसमेत बचत हुने डिभिजन सडक भरतपुरका इन्जिनियर वसन्तकुमार गाइ बताउँछन् ।१५ करोड लागतमा १५ किमि कालोपत्रे गर्न धादिङको मलेखुबाट काम सुरु भएको छ । चालु आर्थिक वर्षमा कालोपत्रे सकिने इन्जिनियर गाइले जानकारी दिए । उक्त सडक सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन खण्डको सवारी चाप घट्ने जिल्ला ट्राफिक प्रहरी चितवनका प्रमुख सन्तोष पन्तले बताए ।

डिभिजन सडक भरतपुरका प्रमुख धमेन्द्र झाका अनुसार अल्पसंख्यक र विपन्न चेपाङ समुदायको जीवनस्तर माथि उठाउने उद्देश्यका साथ चेपाङ मार्गको ट्रयाक खोलिएको हो ।

चेपाङ समुदायमा खुशी

चितवन लोथर–६ बासवाङका कृष्णबहादुर चेपाङ घरछेउमै आएको बाटोका कारण जीवनमा सुख भित्रिएको ठान्छन् । ‘अब दुःखका दिन सकिए कि,’ उनले भने, ‘हामीले जस्तो दुःख र हैरानी छोरा–नातिले भोग्नु नपर्ला ।’ सडक नपुगुञ्जेल दैनिक उपभोग्य सामग्री भण्डाराबाट डोकोमा बोकेर तीन दिनमा मात्र घर पुग्थे उनी । गाउँमा कोही बिरामी परे डोकोमा बोकेर त्यसरी नै भण्डारा पुर्याउनुको विकल्प थिएन । अस्पताल पुर्याउन ढिलो भएकै कारणले धेरैले बाटैमा ज्यान गुमाए ।

अहिले अवस्था फेरिएको छ । बजारसम्म पहुँच बढेपछि तरकारी खेती गर्ने र खसी, बोका पाल्नेहरु बढेका छन् । विपन्न परिवारको आयआर्जन बढाएको छ । कोराक–७ तीनतलेका जीतबहादुर रुम्बालाई पनि चेपाङ मार्गले राहत दिएको छ । उनी भन्छन्, ‘यो बाटोलाई पिच गरिदिए अझ सजिलो हुन्थ्यो ।’ उक्त मार्गमा पर्ने आँपपानी, थाकलटार, भञ्ज्याङ र बासवाङमा स्थानीयवासीले किराना पसल र स–साना होटल सञ्चालन गर्न थालेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार