• होमपेज
  • समाचार
  • काहाँ जान्छ प्रहरीद्धारा बरामद गरिएका अवैध सुन ?

काहाँ जान्छ प्रहरीद्धारा बरामद गरिएका अवैध सुन ?

  • सोमवार, भदौ १९, २०७४
काहाँ जान्छ प्रहरीद्धारा बरामद गरिएका अवैध सुन ?

काठमाडौं, भदौ १९ –

नेपालमा चीन, दुबईलगायत अन्य देशबाट अवैध सुन भित्रने गरेको छ । त्यस्तै गाडीमा लुकाएर ल्याउन सहज भएकाले रसुवाको केरुङ नाका हुँदै ठूलो मात्रामा सुन नेपालमा तस्करी हुने गरेको छ । सुन तस्करलाई बेला बेला प्रहरीले पक्राउ पनि गरेको छ ।
भूकम्पअघि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट ठूलो मात्रामा सुन तस्करी हुने गरेकोमा नाका बन्द भएपछि रसुवा नाकाबाट अवैध सुन भित्रन थालेको हो । यसरी नेपाल भित्रिएका सुनको गन्तव्य छिमेकी देश भारत रहेको प्रहरीले जनाएको छ ।

भारतीय हजार र पाँच सयका नोटको प्रतिबन्ध र निश्चित कोटाका कारण चीन, दुवईलगायतका ठाउँबाट अवैध रुपमा नेपाल भित्रिएका सुन भारत जाने गरेको प्रहरीको बुझाई छ ।

यसरी नेपाल भित्रने सुनको गन्तव्य भारत भए पनि कतिपय सुन भारत जान नपाउँदै प्रहरीले बरामद गर्ने गरेको छ । आज सोमबार मात्रै महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन बरामद गरेको छ ।

प्रहरीले यतिका धेरै सुन बरामद गरे पनि त्यो कहाँ जान्छ धेरैलाई थाहा नहुन पनि सक्छ । तर त्यो सुनको अन्तिम गन्तव्य व्यवसायी नै रहेका छन् । प्रहरीले पक्राउ गरेको सुन राजश्व अनुसन्धान विभाग पठाउँछ भने दोषीलाई अदालतमा उभ्याइन्छ ।
प्रहरीले राजश्व अनुसन्धान विभाग पठाएको सुन लगायतका अन्य वस्तुहरु अदालतको दसी प्रमाणका लागि मागेको बेला अदालतमा उपलब्ध गराउनु पर्छ ।
कुनैपनि व्यक्तिलाई कुनै आरोपमा पक्राउ गरेपछि त्यसको दसी प्रमाणका लागि बरामद भएका सामान अदालतले माग्ने भएकाले राजश्व अनुसन्धान विभागले त्यस्ता सामान अदालतमा चाहिएको बेला उपलब्ध गराउने गर्छ ।

आरोपी तथा अभियुक्तलाई लागेको आरोप पुष्टि नहुन्जेलसम्म ती सामानहरु राजश्व अनुसन्धान विभागमै रहन्छन् ।
यसरी सुन तस्करीमा संलग्न भएको व्यक्तिको आरोप अदालतबाट पुष्टि भएपछि राजश्व अनुसन्धान विभागले सुन नेपाल राष्ट्र बैंकमा पठाउने गर्छ ।
यसरी तस्करबाट प्रहरी र राजश्व अनुसन्धान विभाग आइपुगेको सुन नेपाल राष्ट्र बैंकमा आइपुग्छ । नेपाल राष्ट्र बैंकमा आएपछि त्यसबेलाको सुनको बजार मूल्य अनुसारको रकम नेपाल सरकारलाई नेपाल राष्ट्र बैंकले तिर्नुपर्ने प्रावधान छ ।

प्रहरीले बरामद गरेको अवैध सुन राष्ट्र बैंकले किन्ने गर्छ । राष्ट्र बैंकले किनेपछि त्यो सुन बैंकले बेला बेलामा निकाल्ने सिक्का तथा मेडलहरुमा प्रयोग गरिन्छ । यसरी बढी भएको सुन बैंकले व्यापारीलाई उपलब्ध गराउने गरेको छ ।
राष्ट्र बैंकले दैनिक १५ किलो सुन व्यापारीलाई उपलब्ध गराउनु पर्ने व्यवस्था छ । सोही अनुसार सिक्का तथा मेडल बनाएर धेर भएको सुन बैंकले व्यापारीलाई उपलब्ध गराउने गरेको हो ।
यसरी तस्करले ल्याएको सुन प्रहरीले बरामद गरेपछि राजश्व अनुसन्धान विभाग, बेला बेलामा अदालत र राष्ट्र बैंक हुँदै अन्तिममा व्यापारीसम्म पुग्ने गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार