• होमपेज
  • समाचार
  • दुःखकष्ट बुझ्नेलाई मात्र मत दिने सिरहाका मतदाताको भनाई

दुःखकष्ट बुझ्नेलाई मात्र मत दिने सिरहाका मतदाताको भनाई

  • आइतवार, भदौ १८, २०७४
दुःखकष्ट बुझ्नेलाई मात्र मत दिने सिरहाका मतदाताको भनाई

लहान, भदौ १८ –

लामो समयको प्रतिक्षा पश्चात यही असोज २ गते हुन लागेको स्थानीय तहको तेश्रो चरणको निर्वाचनमा विकासप्रेमी, समाजसेवी र आफूहरुको दुःखकष्ट बुझ्ने उम्मेदवारलाई जिताउने सिरहाका मतदाताहरुले बताएका छन् ।

निर्वाचनका लागि भोट माग्न यतिबेला विभिन्न दलका आकाँक्षी तथा सम्भावित उम्मेदवारहरु यतिबेला सिरहाका मतदाताको घरघरमा पुगेर मत माग्न व्यस्त भएका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालका आकाँक्षी तथा सम्भावित उम्मेदवारहरु जसरी पनि आफ्नो जित सुनिश्चित गर्न अनेक उपायको खोजी गर्दै मतदाताहरुलाई आफ्नो पक्षमा पार्न घरदैलो अभियान शुरु गरिसकेका छन् ।

यति बेला सिरहा जिल्लाका शहरी तथा ग्रामीण क्षेत्रका चिया पसल, चौतारा, पान पसललगायत सार्वजनिक ठाउँमा चुनावी चर्चाले तिब्रता पाएको छ ।

राजनीतिमा लामो समय योगदान गरेकादेखि युवा पुस्ताका उम्मेदवारसम्म जनताको घरघरमा पुगेर मत माग्न पुग्दा मतदाताहरुले भने गाउँमा बाटोघाटो, स्वास्थ्य र शिक्षा क्षेत्रको विकास गर्ने र समाजमा योगदान पु¥याउँदै आएकालाई मत दिने बताउँछन् ।

सिरहाका मतदाताहरु सीमित स्वार्थका लागि उम्मेदवार बनेकाभन्दा राजनीतिमा सक्रिय रहेर समाजका लागि योगदान गरेका उम्मेदवार आफ्नो रोजाइमा पर्ने बताउँछन् ।

सशस्त्र द्वन्द्व तथा अन्य भौगोलिक कारणले शान्ति, विकास र समृद्धिमा पछि परेका सिरहाका मतदाताले अब विकास र समृद्धि चाहेकाले यसलाई मूर्तरुप दिन सक्ने सक्षम व्यक्तिलाई जिताउने बताउँछन् ।

विभिन्न पार्टीका उम्मेदवार घरघरमा आएर आफ्नो पक्षमा भोट माग्दा कुन उम्मेदवारलाई भोट हालेर जिताउने भनेर मतदाताहरुले पनि गम्भीर भएर सोच्नुपर्ने सिरहाको लहान नगरपालिका–१८ का प्रथम चौधरी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “जो पायो त्यही नेतालाई मत दिएर जिताउनुभन्दा विकासप्रेमी र जनताको दुःखकष्ट बुझ्ने नेतालाई मत हालेर जिताउनुपर्छ, तब मात्र गाउँमा विकास र सुशासन कायम हुन्छ ।”

चुनावपछि सिरहाका गाउँ बस्तीको मुहार फेरिने अपेक्षा गरेका यहाँका मतदाताहरु गाउँको विकास गर्न सक्षम उम्मेदवारलाई जिताउने बताउँछन् ।

राजनीतिक आस्थामा मात्र नभएर गाउँको विकास गर्ने व्यक्ति हामीले छान्छौँ, मिर्चैया नगरपालिकाका महेन्द्र विश्वकर्मा भन्नुहुन्छ, “सीमित स्वार्थमा लागी उम्मेदवार बनेकाले जनताको सपना पूरा गर्न सक्दैनन्, त्यसकारण म त राजनीति र समाजसेवामा योगदान गरेका नेतालाई नै मत दिन्छु ।”

गाउँमै दुःखकष्ट गरेका र गरिब किसानका मर्का बुझ्ने उम्मेदवार नै आफूहरुको रोजाइमा पर्ने बताउनुहुँँदै सखुवा नन्कारकट्टी गाउँपालिका–५ का मोहम्मद इद्रीस भन्नुहुन्छ, “गाउँमा बसेर यहाँको जनताको दुःखकष्ट राम्ररी बुझ्ने उम्मेदवारलाई मात्र हामी यसपालि जिताउँछौ ।”

करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मत हालेर स्थानीय तहमा जनप्रतिनिधि छान्न पाउने अवसर पाएकोमा दंग परेकी लहान नगरपालिका–१९ की सबुरी सदा भन्नुहुन्छ, “विगतको निर्वाचनमा धनी नेताले गरिब जनतालाई पैसा बाँडेर मत किनेर जित्ने गरेका थिए, तर अब त्यो दिन गईसक्यो ।”

अब गाउँका गरिब किसान, मुस्लिम, महिला र दलित समुदायको उत्थान गर्ने नेतृत्वलाई मात्र मतदान गरी जिताउँछौं, उहाँको कथन छ ।

कुल ८ नगरपालिका, ९ गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेको सिरहामा ३ लाख ३१ हजार ५९६ मतदाता रहेका छन् । रासस

Facebook Comments

सम्बन्धित समाचार