चितवन, भदौं १८–
चरम खाद्यान्न अभावबाट गुज्रदै आएको रत्ननगर–११ स्थित गामवेशीको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न पूर्ती गर्न अभियान संचालन सुरु गरिएको छ । खाद्यान्न अभावका कारण विहान वेलुकाको छाक टार्न गाह्रो भएपछि ‘चेपाङका लागि एक दिन’ नाम दिएर अभियानको सुरुवात गरिएको हो ।
संरक्षण केन्द्रको नयाँ कार्यसमिति गठनपछि आईतबार बसेको बैठकले ‘चेपाङका लागि एक दिन’ अभियान सुरु गर्ने निर्णय गरेको थियो । खाद्यान्नका लागि दैनिक करिब १० हजार भन्दा बढि रकम आवश्यक पर्दछ । दैनिक खाद्यान्न जुटाउन धौ धौ पर्दै जानथालेपछि अभियान सुरुवात गरिएको केन्द्रका अध्यक्ष केपी किरण शर्माले बताए । “सधैभरी एक्लैले माग्दै हिड्न गाह्रो हुँदो रहेछ” अध्यक्ष शर्माले भने “साथीहरुको सल्लाह अनुसार सुरुवात गरिएको अभियानले सहयोग पुग्ने विश्वास छ ।”
अभियान अन्र्तगत कसैको जन्म दिन, वैवाहिक वर्षगाँठ, उत्सवको अवसर पारेर एक दिनका लागि खाना खुवाउन आग्रह गरिने शर्माले बताए । अभियान सुरु भएसंगै खैरहनीका समाजसेवी मुरलीप्रसाद गजुरेलले प्रत्येक वर्षको वैशाख १ गते एक दिनको खाना खुवाउने घोषणा गरेका छन् । हाल विभिन्न संघसंस्था तथा व्यक्तीहरुको सहयोगमा केन्द्र संचालन हुँदै आएको छ । केन्द्रमा हाल चितवन, मकवानपुर जिल्लाका ९७ जना चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् ।
केन्द्रको कार्यसमिति पुर्नगठन
रत्ननगर–११ स्थित गामवेशीको चेपाङ संरक्षण केन्द्रको कार्यसमिति पुर्नगठन गरिएको छ । आईतबार भएको भेलाले केपी किरण शर्माको अध्यक्षतमा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा प्रकाशमणी सापकोटा, सचिवमा रेशम चेपाङ, कोषाध्यक्षमा विमला चेपाङ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा होमनाथ सापकोटा, विनोदबाबु रिजाल, शिशिर सिम्खडा, विमल खतिवडा, दिपेन्द्र अधिकारी, धु्रवराज खनाल, अनिता अर्याल,रामकान्त पौडेल चयन भएका छन् । यसैगरी सन्तोष चेपाङ, रुपेश चेपाङ, रमेश राना पनि सदस्य रहेका छन् ।
सल्लाहकार समितिमा समाजसेवी मुरलीप्रसाद गजुरेललाई चयन गरिएको छ ।