काठमाडौं,भदौ १६
दशैंको लागि काठमाडौं बाहिरिने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ यहि भदौं २२ गते देखि खुला हुने भएको छ । आज यातायात व्यवस्था विभागमा बसेको उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीचको छलफलमा २२ भदाैदेखि बुकिङ खोल्न व्यवसायी सहमत भएका हुन् ।
भदौ १५ गतेबाट दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने सरकारको प्रयास व्यवसायीका सर्तका कारण असफल भएको थियो । प्रत्येक दशैमा टिकट बुकिङ खुलाउने समयमा व्यावसायीहरुले सर्त राख्दा बुकिङमा हरेक वर्ष यात्रुहरुलाई अन्योल हुने गरेको छ ।
सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रीम टिकट बुकिङ खुलाउने गरेको छ । त्यस्तै भाडा समायोजन गर्ने विषयमा आगामी सोमबार छलफल गर्ने सहमति भएको छ। दसैँअघि भने भाडा समायोजन लागू नगरिने भएको छ।