नेपाल राष्ट्र बैंकले आइतबारदेखि लागू गरेको रियल टाइम ग्रस पेमेन्ट सेटलमेन्ट (आरटीजीएस) प्रणालीको शुभारम्भ माछापुच्छ्रे बैंकको खाताबाट नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा विना चेक २० करोड रुपैयाँ भुक्तानी गरेर भएको छ।
आइतबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले पहिलोपटक २० करोडको ट्रेजरी डिल सिलिप एकअर्कामा साटासाट गरेर उक्त आरटीजीएस प्रणालीको प्रत्यक्ष उदाहरण पेस गरेका थिए।
आरटीजीएस प्रणाली लागु भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नचाहिने भएको छ। राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँभन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाखभन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।
विश्वका अधिकांश मुलुकमा जस्तै नेपालमा पनि बैंकिङ्ग कारोबारमा सहजता ल्याउने उद्देश्यका साथ अत्याधुनिक प्रविधियुक्त रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) प्रणाली कार्यन्वयनमा ल्याइएको हो।