सनराइज बैंकको बुधबार बसेको सञ्चालक समितिले चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा निरज श्रेष्ठ नियुक्त गरेको छ। रत्नराज बज्राचार्य बाहिरिएपछि श्रेष्ठलाई नियुक्त गरेको बैंकले जनाएको छ।
सिइओ निरजश्रेष्ठ केही समयअघि आफ्नो कार्यकाल पुरा नहुँदै माछापुच्छ्रे बैंकबाट राजिनामा गरेर बाहिरिएका थिए। उनले एक बर्षअघि माछापुच्छ्रे बैंक छाडेका थिए।
तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठले केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि काम गरेका थिए। उनी २०७१ सालको भदौमा एनआईसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आईएमइ गएका थिए।
करियरको सुरुवातमा १३ बर्ष ग्रिनलेजमा काम गरेका श्रेष्ठले त्यसपछि तात्कालिन एस फाइनान्स (हाल एस डेभलपमेन्ट बैंक) को व्यवस्थापन प्रमुखको जिम्मेवारी सम्हालेका थिए। एनआइसी र एनआइसी एसियामा सेकेन्ड म्यानको रुपमा नौ बर्ष बिताएका थिए। ग्लोबल आईएमइ जानु अघि उनी एनआइसी एसिया बैंकमा बिजेनेश बैंकिङ हेर्ने गरि महाप्रबन्धक थिए।