नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट आइतबार (असोज २१ गते)बाट वितरण सुरु गरेको छ । असोज २९ गतेसम्म सर्वसाधारणहरुले नयाँ नोट साट्न पाउने भएका छन् ।
सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका कार्यालयहरु तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो।
मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पोहोर सालजस्तै यस वर्ष पनि नोट सटहीको व्यवस्था गरिएको जानकारी दिए।
५, १०, २०, ५० दरका दुई–दुई पाकेट र १०० दरको एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ पाउने।
राष्ट्र बैंकले विगतमा जस्तै उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।
पोहोर झैं यस वर्ष पनि केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने व्यवस्था मिलाएको छ।
त्यसैगरी, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका २१ शाखा कार्यालयबाट समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको छ । सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न सकून् भनेर राष्ट्र बैंकको थापाथलीबाहेक अन्य तीनवटा बैंकका शाखाबाट पनि साट्न पाउने व्यवस्था मिलाएको निरौलाले बताए । भीड कम होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।
यस वर्ष राष्ट्र बैंकका कार्यालयबाहेक नेपाल बैंकका न्युरोड, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, लाजिम्पाट र भक्तपुर कार्यालयबाट नयाँ नोट वितरण गरिने छ ।
यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, कंलकी र बालाजु शाखाबाट पनि नयाँ नोट साट्न सकिने छ ।
साथै कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ ।