• होमपेज
  • समाचार
  • कालो सूचीका ऋणीहरूको शेयर कारोबार रोक्का

कालो सूचीका ऋणीहरूको शेयर कारोबार रोक्का

  • शुक्रबार, अशोज १९, २०७५
कालो सूचीका ऋणीहरूको शेयर कारोबार रोक्का

नेपाली जनताको रगत र पसिनाबाट जम्मा भएको बैंक र वित्तीय संस्थाबाट करोडौं कर्जा लिएर साँवा ब्याज नतिर्ने ऋणीहरूको अब शेयर कारोबार रोक्का हुने भएको छ । नोपल बैंकर संघ, राष्ट्र बैंक र धितोपत्र बोर्डको पहलमा यस्तो निर्देशन केही महिनाभित्रै सरकारलेनै जारी गर्ने भएको स्रोतको दाबी छ ।

सुन्दा अचम्म लाग्ने नेपाली ऋणीहरूको जीवनशैली लोभलाग्दो छ । कमसल जग्गा धितो राखी सरकारी तीनवटा बैंक नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट सत्ता र शक्तिको भरमा कर्जा लिएका ऋणीहरूले कर्जा चुक्ता गरेका छैनन् ।

बैंकबाट जनताको डिपोजिट कर्जा लिने र ऋणीहरूको साँवाबाट ब्याज नबुझाई कालो सूचीमा परेका व्यक्तिहरूको जीवनशैली खस्किनु पर्ने भए पनि त्यसको ठीक उल्टो झनझनै पैसावाला भएर निस्केका छन् । शेयरमा लगानी गरी अकुत सम्पत्ति कमाउने र जीवनशैली नै फरक बनाएका सयौं उदाहरण नेपाली समाजमा देखिएको छ ।
बैंक र वित्तीय संस्थाहरूले दिएका कर्जा नतिरेपछि बैंकहरूले त्यस्ता व्यक्तिहरूलाई कर्जा सूचना केन्द्रमार्फत कालो सूचीमा राख्ने गर्दछ ।

बैंकबाट कर्जा लिएका सयौं व्यापारी र ऋणीहरू खुलेआम शक्ति र सत्ताको भरमा हिँडिरहेका मात्रै छैनन् एउटा व्यवसाय देखाएर अर्को काममा पैसा प्रयोग गरेका उदाहरण प्रशस्त छन् । उनीहरूले बैंकमा धितो राखेका घरजगगा बिक्री गर्दा पनि बैंकको साँवा व्याज उठ्दैन ।

कतिपय ऋणीहरूको धितो नै मुद्दा मामिलाका कारण बैंक धितो बिक्री हुँदैन यो बीचमा ऋणीले ठूलो चलखेल गरी शेयर बजारमा लगानी गरेर अर्बपति बनेका थुप्रै उदाहरण नेपालमा भेटिएपछि नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल बैंकर्स संघको पहलमा शेयर कारोबार रोक्का गर्ने विषयमा छलफल भएको एसबिआई बैंकका सीइओ एवं नेपाल बैंकर्स संघका उपाध्यक्ष अनुकूल भाटनगरले राजतिलक साप्ताहिकलाई टेलिफोनमा बताए । उनले थपे, ‘शेयर बजारमा लगानी गर्ने, सूचीकृत कम्पनीले बाँडेको नगद लाभांस र बोनस शेयर लिने, हकप्रद शेयर पनि भरेर सम्पत्ति वृद्धि गरिरहन्छ ।

तर, त्यो व्यक्ति तथा संस्थाबाट बैंकले ऋण असुल्न सक्दैन । त्यसकारण हामीले सरकारलाई शेयर कारोबार रोक्का गर्न आग्रह गर्ने निर्णय गरेका छौं ।’

शेयरमा खेलेर अकुत कमाउने तर, बैंकको ऋण नतिर्ने प्रवृत्ति बढ्न थालेपछि नेपाल बैंकर्स संघले त्यसलाई रोक्न नियामक निकायसँग आग्रह गरेको छ । २८ वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले नियतवश बंैकको ऋण नतिर्ने र शेयर बजारमा खेलेर अर्बपति बन्नेहरूबाट कर्जा असुल्न पहल थालेको उनले दाबी गरे ।

शेयर बजारमा खेलेर फाइदा लिइरहेका बैंकको कालो सूचीमा परेका ऋणीको विवरण माग गर्दै धितोपत्र बोर्डलाई औपचारिक पत्राचार समेत बैंकर्स संघले गरेको छ ।

नेपालको कानुन अनुसार कालो सूचीमा परेको व्यक्ति तथा संस्थाले अन्य बैकबाट ऋण मागे पाउँदैन । सम्बन्धित ऋणीको खाता पनि रोक्का हुन्छ । अब शेयर पनि रोक्का गर्ने बैंकरहरूले आग्रह गरेका छन् ।

बैंकका हजारौं ऋणीहरू शेयर बजारमा लगानी गरेर पैसा कमाइरहेका छन् । यस्ता सयौं उदाहरण भेटिएपछि बाध्य भएर यस्तो निर्णय गरेको एक बैंकरले बताए । चाँडै नेपाल धितोपत्र बोर्डबाट निर्णय भएमा त्यस्ता व्यक्ति तथा संस्थाले शेयर कारोबार गर्न पाउने छैन ।

बैंकको कालो सूचीमा परेका र खाता रोक्का भएका कतिपय ऋणीहरूले निर्वाध रूपमा शेयर कारोबार गर्ने, बोनस तथा हकप्रद शेयर र नगद लाभांश लिँदै जीवनस्तर नै परिर्वतन गरी खुलेआम हिँडिरहेका छन् ।
कालो सूचीमा रहेका व्यक्ति तथा संस्था र जमानीकर्ता वा सम्बन्धित कम्पनीका शेयरधनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्नु प्रथम दायित्व भए पनि कर्जा नबुझाई कर्जामा दिएको पैसा शेयरमा लगानी गरेर हिँड्ने प्रवृत्ति बढेको छ ।
त्यसैले कर्जा असुली सहज बनाउनका लागि कालो सूचीमा रहेका ऋणीहरूको शेयर विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाले मागेमा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट लिन पाउने व्यवस्था मिलाइदिन संघले धितोपत्र राष्ट्र बैंकलाई आग्रह गरेको हो ।

‘संघले कालो सूचीमा परेका ऋणीहरूको शेयर कारोबारसमेत रोक्का गरिदिन माग गरेको छ,’ एक सीइओले नाम नलेख्ने शर्तमा राजतिलक साप्ताहिकलाई बताए । ऋण खाएर नतिर्ने र शेयर बजारबाट कमाइरहने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ ।
स्रोतले भन्यो, ‘हामी आवश्यक निर्णय गरेर ऋण खाएर नतिर्नेहरूको शेयर कारोबार रोक्का गरिदिने छौं । यसको तयारी अन्तिममा पुगेको छ ।’

स्मरणीय रहोस्, बैंक र वित्तीय संस्थाबाट करोडौं कर्जा लिएका कर्जाको साँवा ब्याज नबुझाएका र कालो सूचीमा परेका प्रतिष्ठित व्यापारी र पूर्वी राष्ट्र बैंकका गर्भनरहरू शेयर बजारमा कारोबार गरी अर्बपति बनेका छन् । यी र यस्ता कारोबार नै रोक्का गरी जनताको पैसा उठाउन जरुरी देखिन्छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार