सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ९३ करोड कर्जा खराब कर्जामा परिणत भएको खुलासा भएको छ । यस्तो कर्जा काण्ड राष्ट्रिय वाणिज्य बैंकमा घटेको छ भन्दा अचम्म लाग्ला, तर यो सत्य हो ।
यो कर्जा बैंकले पटक/पटक गरी सयौं ऋणीलाई दिएको कर्जा हो, तर ऋणीले कर्जा नबुझाएपछि बैंकले कर्जा असुली न्यायाधीकरणमा मुद्दा दर्ता गरेको छ ।
जनताको डिपोजिटमा दिएको कर्जा नउठेपछि बैंकले यी कर्जा प्रोभिजन भने गरेको छ । कर्जा असुली न्यायाधीकणका श्रेस्तेदार भेषराज कोइरालाले दिएको जानकारी अनुसार सबै भन्दा बढी तीन अर्ब ९३ करोड कर्जाको मुद्दा राष्ट्रिय वाणिज्य बैंकको परेको छ ।
नेता र मन्त्रीहरूको निर्देशनमा उनीहरूका आसेपासेहरूले भीर र पाखा धितोराखी विगत ५/७ वर्ष अगाडि लिएका यस्ता कर्जा धितो बिक्रीबाट समेत उठ्ने कुनै संकेत छैन । पद जोगाइराख्न तत्कालीन सीइओ र अध्यक्षको संलग्नतामा र बोर्डबाट निर्णय गरी दिएका यस्ता कर्जाकै कारण बैंक अझै माथि उठ्न सकेको छैन ।
केही वर्ष अगाडि सरकारले निर्णय गरी राष्ट्रिय वाणिज्य बैंकमा सीइओ नियुक्त गरी पठाएका किरण कुमार श्रेष्ठले समेत यी र यस्ता कर्जा उठाउन कुनै चासो नदेखाएको बैंक युनियनका एक सदस्यले बताए । ‘एकातिर खराब कर्जा ४ प्रतिशत भन्दा बढी रहेको राष्ट्रिय वाणिज्य बैंक, अर्कोतिर बैंक पौराणिक बैंकिङ प्रणालीमै छ ।
यसले एटिएम बाहेकका कुनै सेवा अझै ग्राहकसामु ल्याउन सकेको छैन । अधिकांश पुरानै कम्प्युटर ज्ञान नभएका कर्मचारी छन् । आधुनिक बैंकिङका केही नम्स ल्याए पनि बैंक सफल हुन सकेको छैन । नेता, मन्त्री, उच्च कर्मचारीकै निर्देशनमा अझै बैंकमा कर्जा दिने प्रचलन छ,’ युनियनका ती सदस्यले बताए ।
एमालेका तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई पाँच करोड दक्षिणा बुझाएर सीइओ बनेका किरणकुमार श्रेष्ठ बैंकलाई बनाउने भन्दा पनि कमाउ भन्दामा लागेपछि जनताको डिपोजिट डुब्ने स्रोतको दाबी छ । समाचार स्रोत भन्दछ, ‘सीइओ श्रेष्ठ पुराना कर्जा उठाउनेभन्दा नयाँ कर्जा प्रवाह गरी आर्थिक लाभ लिने काममा लागिपरेपछि बैंक फेरि राष्ट्र बैंकले हस्ताक्षेप गर्ने हो कि भनेर लगानीकर्ता त्रसित भएका छन् ।
विज्ञापनदेखि कर्जा प्रवाहसम्म कमिसन लिने सीइओ किरण श्रेष्ठकै कारण बैंकले प्रगति गर्न नसकेको एक उच्च पूर्व कर्मचारीले राजतिलक साप्ताहिकलाई बताए । सधैं मोजमस्तीमै व्यस्त सीइओ श्रेष्ठलाई अहिले एमालेको सरकार आएपछि हाइसञ्चो भएको छ । श्रेष्ठ कसैको कुरा सुन्दैनन् ।
एमाले नेता तथा मन्त्रीका आसेपासेलाई जनताको पैसामा कर्जा दिने र कमिसन लिने काममा भ्याइनभ्याइ भइरहेको स्रोतको दाबी छ । राष्ट्रिय वाणिज्य बैंकलाई आधुनिक बैंकिङमा लैजाने काम थाती राखी कमाउ भन्दामा लागेका सीइओ श्रेष्ठलाई यसबारेमा प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्दा फोन उठाएनन् । स्मरणीय रहोस्, जनताको रगत र पसिनाबाट जम्मा भएको डिपोजिटमा र्याल चुहाउने अधिकार कसैलाई छैन । चेतना भया ! राजतिलक साप्ताहिक