• होमपेज
  • समाचार
  • जलविद्युत् आयोजना बन्द

जलविद्युत् आयोजना बन्द

  • शुक्रबार, भदौ १, २०७५
जलविद्युत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पुर्याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना बन्द भएको हो ।

टुकुचे हिमालको फेदीमा रहेको थापाखोलाको बाँधमा बाढीले क्षति पुर्याएपछि मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित थापाखोला जलविद्युत् आयोजना बन्द हुँदा मुस्ताङमा विद्युत् आपूर्ति प्रभावित बनेको प्रजिअ शिशिर पौडेलले बताउनुभयो ।

उहाँका अनुसार डोजर र मजदुर परिचालन गरेर मर्मतको काम शुरु गरिए पनि विद्युत् आपूर्ति सहज बनाउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको सो आयोजनाले एक वर्ष अघिदेखि उत्पादन शुरु गरेको थियो ।

केन्द्रीय प्रसारण लाइनमा समस्या आएका बखत मुस्ताङमा थापाखोलाबाट उत्पादित विद्युत् आपूर्ति हुँदै आएको थियो । सो आयोजना बन्द हुँदा मुस्ताङका होटल, पर्यटन, उद्योग व्यवसायका साथै र सार्वजनिक सेवा प्रवाहमा असर परेको छ ।

यस्तै नारच्याङको मिस्त्री, घलेम्दी र निलगिरि खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले फालेको मकिङ (सुरुङबाट निस्किएको गेगर र माटो) बाँधमा थुप्रिएपछि तातोपानी साना जलविद्युत् आयोजना बन्द भएको छ । गेगर, माटो, तार बगाएर ल्याई बाँधमा थुपारेपछि आयोजना बन्द भएको प्राविधिक खिम पुनले बताउनुभयो ।

बयालिस मेगावाट क्षमताको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोलाको सुरुङको मकिङ र निलगिरि खोलाको पहुँचमार्ग निर्माणका क्रममा निस्किएको माटो बाँधमा आएर थुप्रिने गरेको छ । निर्माणाधीन आयोजना र विद्युत् प्राधिकरणका कर्मचारीलाई मकिङको व्यवस्थापन तथा आयोजना मर्मतका लागि स्थानीयवासीले सचेत बनाए पनि सुनुवाइ नभएको गुनासो छ ।

पहिरो पीडितलाई सारिने 
अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइँठे र काभ्रेका पहिरो पीडितलाई सुरक्षित स्थानमा सारिने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडाध्यक्ष नरसीङ पुर्जा, बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र पीडितबीच भएको छलफलपछि उच्च जोखिममा रहेका १० घरपरिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको हो ।

बेनी–जोमसोम सडक विस्तारको क्रममा पाखो भत्किएर पहिरो खस्न थालेपछि गुइठेका कृष्ण बस्याल, उदयबहादुर सार्की, गणेश कटुवाल, राजु बिक, देउमाया सार्की, कर्णबहादुर नेपाली, सोमबहादुर मिजार, गोविन्द केसी र दीर्घबहादुर थापाको परिवार विस्थापित भएका हुन् ।

यसैगरी काभ्रेका भक्तबहादुर पाइजा, भूमिराज पाइजा र होमबहादुर पाइजाको परिवारलाई पनि सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउने निर्णय भएको वडाध्यक्ष पुर्जाले बताउनुभयो । पहिरो पीडितलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले जस्तापाता र खानेपानीको पाइप उपलब्ध गराउने भएको छ ।

गुइठेका पहिरो पीडितलाई आयोजनाले २५ एमएमको २५० मिटर पाइप उपलब्ध गराइसकेको स्थानीय सुरत केसीले जानकारी दिनुभयो । गाउँपालिकाको बुधबार बसेको बैठकले रु ५० हजार विनियोजन गरेको छ । सडक आयोजनाले जस्तापाता उपलब्ध गराएपछि केही समय बस्नका लागि अस्थायी टहरा निर्माण गर्ने तयारी भएको छ । पहिरोपीडित हाल छिमेकी र आफन्तकोमा आश्रयमा छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा