मुक्तिनाथ विकास बैंकले आव २०७४/७५ सम्ममा ३० अर्ब ३५ करोड निक्षेप संकलन र २५ अर्ब २६ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा १ अर्ब २ करोड गरेको छ । बैंकले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा ८१ प्रतिशत र कर्जा प्रवाहमा ६५ प्रतिशतले वृद्धि गरी सञ्चालन नाफा ३३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
बैंकको निष्कृय कर्जा अनुपात गत वर्षभन्दा अझै कम गर्दै ०.००४४ प्रतिशत कायम गर्न सफल रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २२.२२ रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा १ अर्बभन्दा बढी गरी निक्षेप र कर्जातर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको बैंकको दाबी छ । हाल बैंकले ९५ शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको समेत बैंकले जनाएको छ ।