• होमपेज
  • फिचर
  • दुई आइजीपी नियुक्त, नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र

दुई आइजीपी नियुक्त, नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र

  • मङ्लबार, चैत्र २७, २०७४
दुई आइजीपी नियुक्त, नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र

नेपाल प्रहरीको नयाँ प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)मा डीआईजी सर्वेन्द्र खनाल नियुक्त भएका छन् भने शसस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् ।

प्रहरी प्रमुखकै विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलबीच सहमति भएपछि दुबै जनालाई नियुक्त गरिएको हो ।

प्रहरी महानिरीक्षक (आईजीपी)नियुक्ति गर्न मंगलबार विहान बसेको मन्त्रिपरिषद बैंकमा टुङगो नलागेपछि दोस्रो पटक मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा निर्णय गरेको छ ।

नेपाल प्रहरीमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की दाबेदार थिए, भने सशस्त्रमा शैलेन्द्र खनाल र पुष्पराम केसी आइजीपीको दावेदार रहेका थिए ।

आईजीपी प्रकाश अर्यालले आगामी बिहीबारबाट अनिवार्य अवकास पाउने भएपछि नयाँ आइजीपीका लागि आइजीहरुबीच चर्को प्रतिस्पर्धा चलेको थियो । आईजीपीका लागि तीन डिआईजीको नाम चर्चामा थियो ।

डीआईजीत्रय खनाल, रमेश खरेल र पुष्कर कार्कीको नाम चर्चामा रहे पनि एक नम्बर वरियतामा रहेका कारण सरकारले खनाललाई आईजीपी बनाउने निर्णय गरेको हो । खनाल, खरेल र कार्की तीनैजना २०४६ का व्याजी हुन् ।

डीआईजीको वरियतामा खनाल एक नम्बरमा खरेल दुई र कार्की तीन नम्बरमा थिए । बिगतमा वरिष्ठताका कारण सिर्जना भएको भाँडभैलोबाट पाठ सिक्दै सरकारले यो पटक भने वरिष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

को हुन् खनाल ?
हाल महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख रहेका खनाल एक निडर प्रहरी अधिकृतको रुपमा परिचित छन् । खनालले एसएसपीसम्म आइपुग्दा काठमाडौंदेखि तराईसम्मका जिल्लाको सफलतापूर्वक कमाण्ड सम्हालिसकेका छन् ।

खनालले जनआन्दोलनको समयमा काठमाडौं, धनुषा, अञ्चल प्रहरी कार्यालय नारायणी, र अपराध महाशाखाको नेतृत्व सम्हालेर आफूलाई अब्बल प्रहरी अधिकारीको रुपमा प्रमाणित गरिसकेका छन् ।

कुख्यात भारतीय अपराधी बब्लु दुवेको पक्राउदेखि गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टरसम्म गरेका खनालले नेपाली फुटबलको म्याच फिक्सिङको पर्दाफास मात्र गरेनन्, पेट्रोल पम्पमा चिप्स राखेर ठगी गर्ने गिरोहलाई समेत कानुनी कठघरामा उभ्याएका थिए । संगठनले खटाएको जुनसुकै ठाउँमा बस्दा समेत चेन अफ कमाण्ड मेन्टेन गरी प्रहरी संगठनकको शिर उच्च राख्न सफल उनी राजनीतिक रुपमा भने सन्तुलन मिलाउन माहिर मानिन्छन् ।

Facebook Comments

सम्बन्धित समाचार