• होमपेज
  • समाचार
  • कालीञ्चोकमा बौलाहा कुकुर आतंक, औषधि छैन

कालीञ्चोकमा बौलाहा कुकुर आतंक, औषधि छैन

  • बिहिबार, कार्तिक १६, २०७४
कालीञ्चोकमा बौलाहा कुकुर आतंक, औषधि छैन

चरिकोट,कार्तिक १६ –

दोलखाको कालीञ्चोक गाउँपालिका–१ बेगुम्पामा बौलाहा कुकुरको टोकाइबाट आठजना स्थानीयबासी घाइते भएका छन् ।

दिउँसो १ बजेको समयतिर अनायासै आएको कुकुरले टोकेपछि स्थानीय त्रसित भएको स्थानीय बासिन्दा पदम थामीले जानकारी दिनुभयो । उहाँका अनुसार साविक कालीञ्चोक–३ का पहलबहादुर विकले पालेको कुकुर केही दिनदेखि हराएको र बुधबार गाउँ छिरेर एकैपटक गाउँका बालबालिका र वृद्धलाई घाइते बनाएको हो ।

बौलाहा कुकुरको टोकाइबाट घाइते हुनेमा कालीञ्चोक गाउँपालिका–१ का ८५ वर्षीया वृद्ध रत्नमान थामी, आठवर्षीय तिलक थामी, चार वर्षीया बालिका चन्द्रिका थामी, १९ वर्षीय जीवन थामी, आठ वर्षीय टीकाराम थामी, ३३ वर्षीय कर्णबहादुर थामी, १० वर्षीय राम थामी र छ वर्षीय ताराबहादुर थामी रहेको स्थानीय पदम थामीले जानकारी दिनुभयो ।

बौलाहा कुकुरको टोकाइबाट घाइते भएका बिरामीलाई रेबिज संक्रमण हुने भन्दै सदरमुकाम ल्याउने तयारी भइरहेको जनाइएको छ ।

स्थानीयले उक्त कुकुरलाई भने नियन्त्रणमा लिएका छन् । स्थानीय स्वास्थ्य संस्थामा रेबिजविरुद्धको सुई अभाव भएपछि बिरामीलाई तत्काल सदरमुकाम लैजान आग्रह गरेको कालीञ्चोक स्वास्थ्य चौकीका इञ्चार्ज अनिलसिंह ठकुरीले जानकारी दिनुभयो ।

दोलखाका प्रहरी प्रमुख नायव प्रहरी उपरीक्षक रामेश्वर कार्कीले घटनाबारे जानकारी प्राप्त नभएको बताउँदै तत्काल उक्त घटनाबारे जानकारी लिई आवश्यक समन्वयन गरेर बिरामीलाई सदरमुकाम झिकाउने बताउनुभयो ।

उहाँले तत्काल प्रहरी परिचालन गरी त्यस्ता कुकुरको पहिचान गरी मार्ने अभियान शुरु गर्ने पनि बताउनुभयो ।

उक्त गाउँमा यसअघि पनि बौलाहा कुकुरले चारजनालाई टोकेको थियो । उनीहरुको दोलखामा उपचार हुन नसकेपछि राजधानी काठमाडौँ पठाइएको बताइएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार