• होमपेज
  • समाचार
  • नारायणगढ–मुग्लिन सडक : दैनिक ८ घण्टा बन्द नगरे काम गर्न कठिन हुने आयोजनाको भनाई

नारायणगढ–मुग्लिन सडक : दैनिक ८ घण्टा बन्द नगरे काम गर्न कठिन हुने आयोजनाको भनाई

  • बुधबार, कार्तिक १५, २०७४
नारायणगढ–मुग्लिन सडक : दैनिक ८ घण्टा बन्द नगरे काम गर्न कठिन हुने आयोजनाको भनाई

चितवन, कात्तिक १५ –

दसैँदेखि छठ पर्वसम्मलाई लक्षित गरी २४ घण्टा खुला गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड अब के गर्ने भन्ने विषयमा अन्यौल देखिएको छ । दिउँसोको समयमा सडक बन्द गरेर काम नगरे तोकिएको समयमा निमार्ण कार्य नसकिने आयोजनाले बताएको छ भने प्रशासनले एकतर्फी मात्र सडक बन्द गरेर काम गर्न सुझाव दिएको छ । आयोजनाले एकतर्फी बन्द गर्दा काम गर्न झन कठिन हुने बताएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले प्रशासनसँग समन्वयको लागि पत्र पठाएको थियो । प्रशासनले अहिले बन्दै गरेर काम गर्नु भन्दा वान वे बन्द गरेर काम गर्न सुझाव दिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । केही समय वान वे गरेर काम गर्ने र समस्या देखिए पछि थप निर्णय हुने सुझाव दिएका छौं’ प्रमुख जिल्ला अधिकारी भट्टले भन्नुभयो ‘तत्कालै दिउँसोको समयमा सडकमा यातायत बन्द गर्ने की नगर्ने विषयमा थप छलफल गर्दैछाैं ।’
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले सडक कालोपत्रेको काम र केही स्थानमा अझै सडक फराकीलो गर्नुपर्ने काम बाँकी भएकाले वान वे गर्दा काम गर्न कठिनाई हुने बताउनुभयो । ‘दिउँसोको समयमा बन्द गरेरै काम गर्ने बतावरण बनाइदिन हामीले प्रशासनसँग अनुरोध गरेका छौं’ इन्जिनियर खनालले भन्नुभयो ‘समयमै काम सम्पन्न गर्ने हो भने बन्दै गरेर काम गर्नुपर्छ ।’

मंसिरदेखि वैशाखसम्म मूख्य काम गर्ने मौषम भएकाले यो समयमा दैनिक ८ घण्टा काम गर्ने वातावरण भएमा २०७४ चैत मसान्त सम्ममा पहिलो तहको काम सम्पन्न गर्न सकिने बताउँदै खनालले यही मौषममा काम गर्न नसके वर्षा सुरु हुने भएकाले थप समस्या आउने बताउनुभयो ।

निर्माणको क्रममा दिउँसोको समयमा बन्दै हुँदै आएको सडक पहिरोको जोखिम र यात्रुको सुरक्षाको दृष्टिकोणले रातको समयमा यातायात बन्द गर्नुपरेको थियो । चाडपर्वलाई लक्षित गरी दसैँ अगाडिबाट २४ घण्टा नै यतायात सञ्चालनमा ल्याइएको थियो । सवारी चाप धेरै हुने भएकाले सडक बन्द नभएको समयमा निर्माणको काम प्रभावित भएको थियो । सडक निर्माणको कामलाई सहज गराउनका लागि यसअघि दिनको समयमा बिहान १० देखि ४ बजेसम्म यो सडक बन्द हुँदै आएको थियो ।

पहिलो खण्डको निर्माण कम्पनीले आँपटारीबाट पिचको काम सुरु गरेको छ । पहिलो खण्डमा ४ किलोमिटर सडक पिच भइसकेको छ । दोश्रो खण्डमा पनि ३ किलोमिटर सडक पिच भइसकेको आयोजनाका इन्जिनियर खनालले बताउनुभयो । तेश्रो खण्डमा १ किलोमिटर सडक पिच भएको छ । ३३ किलोमिटर रहेको सडकखण्डमा ९ किलो मिटर कालोपत्रे भइसकेको जानकारी दिँदै खनालले बाँकी २४ किलोमिटर कालोपत्रे गर्न सडक बन्दै भए सजिलो हुने बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक अधिकतम ७ हजार ३ सय ७७ सवारी साधान आवत जावत गर्ने गरेका छन् । अहिले एसियन नेटवर्कको रुपमा नेपालको चीन सिमाना कोदारीदेखि पाँचखाल काठमाडौं–नौबिसे मुग्लिन–नारायणगढ–हेटौंडा वीरगंज हुँदै भारतसम्म पुग्नको लागि यो सडकखण्ड महत्वपूर्ण रहेको छ । पूर्व–पश्चिम राजमार्ग र तराइलार्ई पृथ्वी राजमार्गहुँदै राजधानी काठमाडौंसम्म जोड्ने काठमाडौं कलकत्ता व्यापारिक करिडोरको एक महत्वपूर्ण सडकखण्डको रुपमा नारायणगढ–मुग्लिन सडकखण्डलाई लिइन्छ ।

नारायणगढबाट मुग्लिनसम्म सवारी यात्रा गर्दा साबिक ७० मिनेट लाग्दै आएको यस सडक पुनर्निर्माण पश्चात ३५ मिनटमा पूरा गर्न सकिने लक्ष्य राखिएको छ । यो सडकमा अहिले रहेको बढीमा पाँच मिटर फराकिलो पिचलाई सातदेखि ११ मिटरसम्म फराकिलो पार्न लागिएको हो ।

नारायणगढदेखि १६ किलोमिटर दूरीसम्म सडक ११ मिटर फराकिलो हुनेछ । त्यसपछि मुग्लिनसम्म सात मिटरको फराकिलो पिच हुने आयोजना कार्यालयले जानकारी दिएको छ । सडकखण्डमा रहेका पुल निर्माण कार्य सडक पूरा भएपछि थप बजेटसहित सुरु हुनेछ । २०३६ सालमा चीन सरकारको सहयोगमा गोर्खा नारायणगढ सडकको एक खण्डको रुपमा यो सडक निर्माण भएको थियो ।

राजधानीलाई जोड्ने मुख्य सडक मार्गको रुपमा रहेको नारायणगढ–मुग्लिन सडकको निर्माण क्रममा अहिलेसम्म ५७ प्रतिशत काम सकिएको छ । यस अवधीसम्ममा ७८ प्रतिशत काम सकिनु पर्नेमा ५७ प्रतिशत काम सकिएको खनालले बताउनुभयो । विश्व बैंकको सहयोगमा २ अर्ब ९० करोड लागतमा बन्न लागेको यस सडकको ३ वटा खण्डमा ३ फरक निर्माण कम्पनीले सडक सुधारको काम गरिरहेका छन् ।

सडक निर्माणको लागि आउँदो फ्रेबुअरी २०, २०१८ सम्मको समय अवधी थप गरिएको छ । अहिले आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्डमा बिएलए तथा श्रेष्ठ निर्माण कम्पनी, सिमलतालदेखि मुग्लिनसम्ममा सुप्रिम तथा रौताहा निर्माण कम्पनी र बिचको सडकखण्डमा उड हिल तथा लामा निर्माण कम्पनीले काम गरिरहेका छन् । – उज्यालोबाट साभार

Facebook Comments

सम्बन्धित समाचार