• होमपेज
  • विचार/ब्लग
  • लुटिएको राष्ट्र, साँचेको राष्ट्रियता

लुटिएको राष्ट्र, साँचेको राष्ट्रियता

  • बुधबार, कार्तिक १, २०७४
लुटिएको राष्ट्र, साँचेको राष्ट्रियता

मोहनचन्द्र रुम्बा–

आज छुट्टिको दिन । सुतेरै समय कटाउछु भन्दा नि मनले मानेन् । गफ चुटेर बस्ने मुड पनि रहेन । समाचार पोर्टलहरु खोले, रेडियोहरुमा समाचार सुने । सबै सबैमा एउटै प्रकृतिका समाचारहरु तरंगित । फुर्सदमा गरिने गफ जस्तै फिक्का समाचारहरु । देश टुक्र्याउने, लम्पसारवाद, राष्ट्रवाद आदी आदी व्यहोराको वरिपरि घुमेका सूचनाहरु । मानौं मियो यी तीन शब्द हुन्, हालको नेपाली राजनीति बहसमा ।

फुर्सदको २/४ घण्टा बिताउन साथी भाईसंग गफ गर्न आँटे, यी तीन शब्द भन्दा अलग केही विषय नबने जस्तो । सबैको तर्कको केन्द बिन्दु यहि अड्किरहने । मलाई देशको राजनीतिक बहसहरु आज बिलकुलै अनौठो र नयाँ लाग्न छाडेको छ । केही मेलो नभेटेर एकै हलोमा जोतीरहे जस्तो । एकपटक निचोरेर निख्रिएको कागतीलाई पानीमा डुबाएर पुनः रस निकालेको दृष्टिभ्रम जस्तो । एकदमै निरस र उदेक लाग्दो । एक देशको युवाले यो लेखिरहनु र बोलिरहनु बिलकुलै सुहाउँदो होईन । तर, यो भन्दा अलग रहेर सोच्ने बेला किन आएन ? यो विचारानिय प्रश्नले कुतकुत्याएको छ । खासमा यो म र मेरा उमेरकाहरुमा राजनीति प्रतिको उदेक लाग्दो र बितृष्णापूर्ण विचारहरु किन उत्पन्न भईरहेको छ ।

यो विषयमा ध्यान दिने कसले ? किन युवाहरु राजनीति मन पराउदैनन् । अधिक युवाहरुमा जागेको राजनीतिप्रतिको बितृष्णाले भोलीका लागि के संकेत गरेको छ ? केलाउन जरुरी छ । कतिले भनेको सुनेको पनि छु, कि यो उमेर Age of anger  को हो । त्यसैले उनीहरुमा राजनीति गर्नेहरुप्रति अरुले गरेको टिप्पणी कै अधारमा घृणा गर्छन् र वास्तविकतामा पुग्ने चेष्टा नै नगरी घृणा गरिरहन्छन् । विचार र विवेचना नै नगरी हेला गर्छन् र अछुत बनाउँछन् भन्नुमा मात्रै तर्क काफी छैन् । यसमा राजनीतिको प्रयोग गर्नेहरुको हर्कत पनि दोषी छन् । उनीहरु आफु अनुकुल राजनीति प्रयोग गर्छन् । त्यसले मान्छेलाई राजनीतिप्रतिको गलत धारणा बनाउन मद्दत पुर्‍याएको छ । कार्यकर्ताहरु आफु अनुकुल लक्ष्यप्राप्तिका लागि सपना बाँड्छन् । त्यसले मानिसहरुमा आकांक्षा बढाउछ । र त्यो पूरा नहुदाको बखत बितृष्णा पैदा हुने गर्दछ । राजनीति नै मुल नीति हो भनेर सिद्धान्त फलाक्नेहरुलाई मेरो प्रश्न, मुल नीति भित्र हामी युवाहरु पछौं कि पर्दैनौं ? यदि पछौं भने युवालाई समेटिने चुनाव र सभामा मात्रै हो कि अरुपनि छन् ।

खासमा आज वर्षौ अघिदेखिको अनुत्तरित प्रश्नहरु किन लेख्दैछु भने, एउटा यस्तो परिघटनाले सोचमग्न बनाईदियो । फुर्सदको दिन साताभरीका लागि सामान किन्नका लागि बजार गएको थिएँ । सामान किनिसकेपछि काउण्टरमा बिल तिर्न लाग्दा काउण्टरमा बस्ने महिलाको नाम देखे । नेपाली नाम, रमिला । परदेशको ठाउँ कतै नेपाली भेटे आफ्नै गाउँघरको साथीभाई भेट जस्तो लाग्ने । त्यसैले सोधीहाले, तपाई नेपालबाट ? नेपालीमा कसैले सोध्दा उ पनि खुसी भएको अनुहारको भावले नै बताईरहेको थियो, हो, भनी । फेरि सोध्न मन लाग्यो र सोधे नेपाल कुन ठाउँ ? उसको उत्तर, दार्जिलिङ, भन्ने आयो । मैले लगत्तै सोधे, दार्जिलिङ त… । प्रश्न पूरा गर्न नपाउदै बोली उसले भनी, हामी नेपाली नै हौं । हामी नेपाली हौं भनेर चिनाउदा कति आत्मिय लाग्छ तर, तपाईंहरु हामीलाई अरु देशको ठान्नुहुन्छ । हामी नेपाली थियौं, हौं र रहिरहने छौं । कति शानदार बोली, यहि जवाफ दिंदा दिंदा थकित भएर निस्किएको आक्रामक झैं लाग्ने । मैले अरु बोलिन् । बुझेँको ईसारामा टाउको हाल्लाए । मैले जबरजस्ती उसलाई तिमी त भारतिय होईनौं र ? भनेझैं लाग्यो, अरु बोल्ने आँट भएन् ।

मध्य दिनको समयमा ग्राहकको चाप अलि कम नै थियो । र पनि मैले औपचारिकता निभाउँदै, छुट्टिने अनुमति मागे । छोटो हाई हेल्लोमा कस्तो गम्भीर कुरा गरेछु कि त भन्ने सोच्दै फर्किए । भलै राष्ट्र अलग होला, मन नेपाली छ । रहनसहन, भाषाभेष सबै एउटै नै छ । मन पनि नेपाली छ, नेपाली भन्नुमा गौरब गर्ने सिमापारिका जनतालाई जबरजस्ती अरुको जिम्मा दिए जस्तो लाग्यो । घटना र परिवेश अलगै होला, तर केहीले तराईका नेपाली मनहरुलाई बिहारी भनेर दोषारोपन गरिरहेको छ । यसले सिमाभित्रका नेपालीको मन त कुडिने नै छ । सिमा बाहिरका नेपाली मनहरुसंग कहिल्यै नजिकिने अवसर नआउन सक्छ । आफ्नो राजनीति गर्ने विषय मात्र बनाउँदा नेपाली–नेपाली बीचको आत्मियताले दुरी नाप्ने निश्चित छ ।

लुटिएको राष्ट्रभित्र बचेका राष्ट्रियतालाई जोगाउने मेसोमा लाग्नु पर्ने हामी किन आजै आफ्नै घर भित्रकालाई चिढ्याईरहेका छौं । भलै गल्ती भएको महशुस गर्नु ठुलो कुरा हो । यो गल्ती नदोहोर्याउनु अझ ठुलो कुरा हुन आउछ । त्यसैले सबै मधेशीलाई बिहारी देख्ने, सबै जनजातिलाई तिब्बती देख्नेहरु पूरा कि पूरा जिम्मेवार बन्नु पर्छ, यो राजनीति बिचलन देखिनुमा । अझैपनि लुटिएको देशमा बाँचिरहेकी रमिला जस्ता युवाले बिना संकोच, बिना चिढचिढाहट निर्धक्क नेपाली भएको भन्न पाउँने आकांक्षा पालेका छन् । भोली यो आकांक्षा बितृष्णामा परिणत नहुने वातावरण सिर्जना गर्नु हाम्रो दायित्व हो ।

हामी परदेशीहरुलाई अलि ज्यादा राष्ट्रिय भावले गाँज्दो रहेछ । नेपालमा राम्रो काम भयो अरे, भनेको सुन्न पाउँदा खेरी मात्रै पनि खुसीले गदगद हुन्छौं । कतै सम्वृद्धिको बहस भएको सुन्न पाउने लालचले नेपाली अनलाइन पोर्टलहरु हेर्छौ । राजनीतिक बहसहरुमा बिकासे विषयले स्थान नपाएकोमा अलि ज्यादा खिन्न लाग्ने रहेछ । सधैं एकले अर्कालाई उचाल्ने पछार्ने प्रवृतिले नै युवाहरुमा घृणा पैदा गराउदै लगेको छ । समृद्धिको विषयमा राजनीति केन्द्रित हुन नसक्दा युवाहरु अझ बिचलित बनेको छ । स्वार्थ केन्द्रित राजनीतिले धेरै हदसम्म हामीलाई घृणा पैदा गराको पक्का हो । ‘खाए खा, नखाए घिचू’को व्यवहारले कहिले पुरा होला हाम्रो नयाँ नेपालको सपना ।

अबको राजनीतिक विषय नेपाली मनदेखि मन जोडिन उत्प्रेरित गराउने हुनुपर्छ । बिकास र समृद्धिको बाटो पहिल्याउने हुनु पर्छ । भ्यागुतोको धार्नी पुर्याउने खेलबाट अलग्गिनु जरुरी छ । होईन भने, यो खेल कहिल्यै समाप्त हुनेवाला नै छैन । तपाईं हाम्रो दोस्रोरतेस्रो पुस्ताको नियति पनि हाम्रो भन्दा बिलकुलै फरक नहुने निश्चत छ । उनीहरुले पनि यस्तै कुसंस्कारको जालो अड्किन पर्नेछ । नेपालीलाई नेपालीदेखि टाढा गराउने राजनिती किन हुदैछ । कुन समय एकै थाली खाने हामी दाजु भाईलाई किन अलग गरिन खोजिदैछ । अब पहाडका नाक चुच्चे भाईहरुसंग कुममा कुम मिलाएर हिड्दा मैले बाहुनवाद स्वीकारेको किन हुने ? दलित दाजुसंग हात मिलाउदा जाती मिल्दैन भनेर किन बहस चलाउने ? र तराईका दाजभाईहरुलाई सधै भारतिय मात्रै देखाउने ? हामीले चाहेको राजनितीक उपलब्धि यहि हो ?

[email protected]

Facebook Comments

सम्बन्धित समाचार