बग्दाद,भदौ ३० –
दक्षिणी इराकमा अतिवादी इस्लामिक संगठन ‘आईएस’ले गराएको दुई आक्रमणमा ६० जना मारिएका छन् । आक्रमणमा करिब दुई सय मानिस घाइते भएका छन् । धिक्वार प्रान्तको राजधानी नासीरियाको एक रेष्टुराँमा आत्मघाती आक्रमणकारीले आफैंलाई विष्फोट गराएका थिए भने अरु बन्दूकधारीले गोली प्रहार गरेका थिए ।
आक्रमणकारीले सेनाको चोरेको गाडी प्रयोग गरेका थिए । भीडभाडयुक्त उक्त रेष्टुराँमा विष्फोटक पेटी बाँधेका आत्मघातीले आफैंलाई उडाएका थिए भने अरु आक्रमणकारीले ग्रिनेड र गोली प्रहार गरेका थिए ।
यसैको केही समयपछि एक सुरक्षा चेक पोष्टमा विष्फोट गराउँदा एक कार ध्वस्त भयो । मारिनेमा सात जना इरानी नागरिकसमेत परेका छन् । हमलामा ९० जना घाइते भएका छन् । – एजेन्सी