• होमपेज
  • समाचार
  • वैदेशिक रोजगारीमा गएका नवलपरासीका ३ जनाले ज्यान गुमाए

वैदेशिक रोजगारीमा गएका नवलपरासीका ३ जनाले ज्यान गुमाए

  • शुक्रबार, भदौ १६, २०७४
वैदेशिक रोजगारीमा गएका नवलपरासीका ३ जनाले ज्यान गुमाए

ज्ञानु पंगेनी,

नवलपरासी, भदौं १६–

ढाई महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका नवलपरासीका ३ जनाले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा २ जना कावासोती नगरपालिकाका र एक जना प्रतापपुर गाउँपालिकाका हुन् । तीनै जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको हो । विहिबार मात्रै कावासोती–२ निवासी रुमबहादुर ठकुरीको शव नेपाल आएको छ । उनको शुक्रबार अन्त्येष्टि गरिएको छ । ४८ वर्षका ठकुरीको गत आईतबार कतारमा सवारी दुर्घटनामा परेर मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् । उनी कतारमा चालकका रुपमा कार्यरत रहेका थिए ।

यस्तै साउदीमा रोजगारीमा गएका कावासोती ५ का २६ वर्षका युवा नारायण चापागाईको पनि सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । उनी पनि साउदीमा चालकको रुपमा नै कार्यरत रहेका थिए । सवारी चलाउने क्रममा दुर्घटना परि उनको गत असार १० गते घटनास्थलमा नै मृत्यु भएको उनका काका डिल्लीराज चापागाईले जानकारी दिए । उनको शव कावासोतीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको सहायतामा भदौं १ गते ५१ औं दिनमा नेपाल ल्याईएको हो । उनी साउदी गएको ४ वर्ष भएको थियो । उनी यहि भदौं महिनामा नेपाल आउने तयारीमा थिए ।

यस्तै जिल्लालाको प्रतापपुर गाउपालिका धनेवा निवासी २७ वर्षका अर्का एक जना निलकण्ठ पौडेलको पनि कतारमा सवारी दुर्घटनामा परेर मृत्यु भएको हो । उनी कतारमा विगत १ वर्षदेखि सवारी चालककै रुपमा कार्यरत रहेका थिए । उनको शव पनि केहि दिन अघि मात्रै नेपाल ल्याईएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिईन् । मृत्यु भएका ३ नै जनाको क्षतीपुर्तीका लागि प्रकृया अगाडि बढाईएको लम्सालले बताईन् ।

फोटोः कावासोती २ निवासी रुमबहादुर ठकुरीको शव ।

Facebook Comments

सम्बन्धित समाचार