नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सौर्य एयरलाइन्सलाई जहाज उडानको अनुमति दिन अस्वीकार गरेको छ। क्यानले विभिन्न कैफियत देखाउँदै सौर्य एयरलाइन्सलाई उडान अनुमति दिन अस्वीकार गरेको हो।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले सौर्य एयरलाइन्सले जहाज दुर्घटनापछि यात्रुको सुरक्षाका लागि गर्नुपर्ने काम नगरेकाले उडान अनुमति नदिएको बताए। ‘सौर्य एयरलाइन्सले दुर्घटना पछि गर्नु पर्ने काम गरेको छैन। त्यसैले हामीले उडान अनुमति दिएका छैनौं,’ उनले भने, ‘सौर्यको जहाज उडाउन दिने अवस्था छैन। त्यसैले जहाज ग्राउन्डेड गरिएको हो।’
सौर्य एयरलाइन्सको उडान पोहोर साउन १० देखि बन्द छ। एयरलाइन्सको जहाज काठमाडौंबाट पोखरामा उडान गर्ने क्रममा साउन ९ गते त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। दुर्घटनापछि क्यानले एयरलाइन्सको उडान सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको थियो।
त्यसयता सौर्य एयरलाइन्सले एओसी फुकुवाका लागि क्यानसँग दुई पटक अनुमति मागिसकेको छ। कम्पनीसँग बम्बार्डियर कम्पनीका सीआरजे २०० सिरिजका दुईवटा जहाज रहेकामा एउटा मात्र उडानयोग्य छ। क्यानका सूचना अधिकारी भूलका अनुसार जहाज दुर्घटनामा परेकाहरुका परिवारले अहिलेसम्म बीमा दाबी रकम पनि पाएका छैनन्।
सरकारले गठन गरेको जाँचबुझ आयोगले जहाज दुर्घटनामा कम्पनीको दोष देखाएको थियो। प्रतिवेदन बुझाएको पनि करिब ४ महिना बित्न लागेको छ। तर हालसम्म यसबारे कुनै पनि काम कारबाही भएको छैन्। प्रतिवेदनमा ‘जहाज टेक अफ गर्ने क्रममा अत्यधिक गतिका साथ सिधा माथि उठ्नु’ दुर्घटनाको मुख्य कारण भनिएको छ।