• होमपेज
  • समाचार
  • प्रहरीमा सहकारी ठगीका उजुरीको चाङ

प्रहरीमा सहकारी ठगीका उजुरीको चाङ

  • बिहिबार, साउन २३, २०८२
प्रहरीमा सहकारी ठगीका उजुरीको चाङ

गाउँगाउँमा सहकारी, घरघरमा भकारी भन्ने नाराका साथ स्थापना भएका सहकारी संस्थाले अबौं रुपमा हिनामिना गरेको पाइएको छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार सहकारी संस्थामार्फत भइरहेको ठगी र रकम हिनामिनाका उजुरीहरू वर्षेनी डरलाग्दो रूपमा बढिरहेको छ ।
प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म सहकारी ठगीसम्बन्धी उजुरी र त्यससँग सम्बन्धित पक्राउ तथा रकम हिनामिनाको तथ्यांक उच्च दरमा बढ्दो छ ।

प्रारम्भिक वर्षमा कम, पछिल्ला वर्षमा चर्को वृद्धि

आव २०७५-७६ मा सहकारी ठगीका ६ उजुरी प्रहरीमा दर्ता भएका थिए । त्यसमा संलग्न अभियोगमा ८ जना पक्राउ परे र ७६ लाख ५४ हजार रुपैयाँ हिनामिना भएको थियो । अर्को वर्ष २०७६-७७ मा ८ वटा उजुरी दर्ता भए, १३ जना पक्राउ परे र २६ करोड १२ लाख रुपैयाँ बराबरको रकम हिनामिना भएको देखिएको छ ।

तर, कोरोना महामारीपछि ठगीका घटना चर्को रूपमा बढेका छन्। आव २०७७÷७८ मा २० वटा उजुरी दर्ता भई ७७ जना पक्राउ परे । त्यही वर्षमा मात्र १ अर्ब ११ करोड ४५ लाख रुपैयाँ हिनामिना भएको प्रहरीले जनाएको छ ।

२०७८-७९ देखि २०८०-८१ सम्मको अर्बौंको ठगी

२०७८-७९ः १५ उजुरी, ४७ जना पक्राउ, ७ अर्ब ३९ करोड ३५ लाख हिनामिना

२०७९-८०ः ५३ उजुरी, ६४ जना पक्राउ, १८ अर्ब ८२ करोड ७५ लाख हिनामिना

२०८०-८१ः ११० उजुरी, ३०७ जना पक्राउ, २८ अर्ब ५१ करोड ३३ लाख हिनामिना

चालु आवमै १० अर्बभन्दा बढी हिनामिना

चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा मात्र ६५ वटा सहकारी ठगीका उजुरी परेका छन् । जसमा संलग्न ६० जना पक्राउ परिसकेका छन् । उनीहरूबाट १० अर्ब ८२ करोड ८६ लाख रुपैयाँ हिनामिना भएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।

सहकारी क्षेत्रको नियमन र पारदर्शिता कमजोर बन्दै गएकोप्रति विशेषज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । उनीहरूका अनुसार, सहकारी व्यवस्थापनमा पारदर्शिता, नियमन, र कानुनी दण्डको प्रभावकारिता नहुँदा ठगीका घटना बढेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार