मिस नेपाल २०२५ का सहभागीबीच यती एयरलाइन्सले प्रायोजन गरेको विशेष सबटाइटल ‘वुमन विथ द विङ्स’ प्रतियोगिता पोखरामा सम्पन्न भएको छ । आत्मविश्वास, प्रस्तुति शैली, विचारशीलता र प्रेरणादायक व्यक्तित्वका आधारमा सम्पन्न प्रतियोगितामा २६ प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ‘वुमन विथ द विङ्स’ सबटाइटल आत्मविश्वासी, सक्षम र प्रेरणादायी महिला पहिचानका लागि यती एयरलाइन्सले प्रदान गर्ने सम्मान हो ।
यस उपाधिको माध्यमबाट यती एयरलाइन्सले महिलाको सशक्तीकरण, नेतृत्व क्षमता र समावेशी भूमिका प्रोत्साहन गर्दै आइरहेको छ । प्रतियोगितामा सहभागी युवतीहरूले व्यक्तिगत अनुभव, सामाजिक सोच र भविष्यप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै सशक्त अभिव्यक्ति दिएका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्ट, द हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकार, नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, नटराज ज्वेलर्सका निर्देशक अनुराज सरोगी र स्किन आर्ट्स एस्थेटिककी निर्देशक स्वप्निल शर्मा थिए ।
जज प्यानलले सहभागीलाई विभिन्न सूचकांकका आधारमा मूल्यांकन गर्दै उत्कृष्ट प्रतिस्पर्धी छनोट गरेका हुन् । द हिडन ट्रेजरको आयोजनामा हुने मिस नेपाल प्रतियोगितामा वुमन विथ द विङ्स उपाधि महिलाको नेतृत्व क्षमता सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको हो । उचाइको प्रतीक बनेर अरूका लागि प्रेरणा दिन सक्ने सामर्थ्य राख्ने आत्मविश्वासी नेपाली युवतीका प्रतिभा उजागर गर्दै यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारको पहल गर्दै आएको छ । प्रतियोगिताको नतिजा भने आगामी १४ भदौमा राजधानीमा आयोजना हुने मिस नेपाल २०२५ को ग्रान्ड फिनालेमा सार्वजनिक गरिने छ ।
यती एयरलाइन्सका अनुसार वुमन विथ द विङ्स उपाधि विजेताले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुने विभिन्न अभियान तथा कार्यक्रममा प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । विजेताले एक वर्ष अवधिमा यती एयरलाइन्सका तर्फबाट महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षणजस्ता विषयमा केन्द्रित कार्यक्रममा सक्रिय सहभागिता जनाउनेछन् ।