वसन्तयामको आरोहणलाई व्यवस्थित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले विशेष सुधारात्मक कामका साथ सक्रियता बढाएको छ । साहसिक एवम् अति नै संवेदनशील मानिने सगरमाथा आरोहणलाई व्यवस्थित र गुणस्तरीय बनाउन विभागले आरोहण इतिहासमै पहिलोपटक चिकित्सकलाई सगरमाथाको आधार शिविरमै खटाएको छ । त्यसो त यसअघिका आरोहणमा पनि चिकित्सकको व्यवस्था हुने भए पनि उनीहरु सम्बन्धित स्थानमा पुग्दैन थिए । सम्पर्क अधिकृत पनि सम्बन्धित गन्तव्यमा नपुग्ने, बीचबाटै फर्किनेलगायतमा समाचार आएका थिए ।
हिमाल आरोहणका लागि उपयुक्त वसन्तयाममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । आरोहणमा देखिएका विभिन्न जटिलता र विकृतिलाई नियन्त्रण गर्न नियामक विभागले पर्वतारोहणलाई व्यवस्थित गर्ने भएको हो । विभाग, पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यले यो वर्षको वसन्तयामको आरोहणमा सम्बन्धित क्षेत्रमै चिकित्सक रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
“सगरमाथा आरोहणलाई व्यवस्थित, गुणस्तरीय र विश्वसनीय बनाउन हामीले विभिन्न व्यवस्थापन गर्ने क्रममा यो पटक सगरमाथाको आधार शिविरमै रहने गरी दुईजना चिकित्सक खटाइसकेका छौँ, उहाँहरु सम्भवतः त्यहाँ पुगिसक्नुभयो, अहिलेसम्मको आरोहण र अभिलेखलाई हेर्दा यो ऐतिहासिक काम भएको हामीलाई लागेको छ, आधार शिविरमै चिकित्सक राखेको अरू उदाहरण भेटेका छैनौँ”, उहाँले भन्नुभयो ।
विभागले स्वास्थ्य सेवा विभागअन्तर्गतका दुई चिकित्सकलाई काजमा सगरमाथाको आधार शिविरमा खटाएको छ । विभागले पर्यटन ऐन र पर्वतारोहण नियमावलीबमोजिम खटिने सम्पर्क अधिकृतलाई पनि व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक बन्दोबस्ती मिलाएको निर्देशक आचार्यले बताउनुभयो । आरोहणका दौरानमा अन्य गतिविधि बढेकाले विभागले यस पटक तस्बिर र भिडियो खिच्न तथा त्यसलाई प्रकाशन÷प्रसारणमा कडाइ गरेको छ । आरोहीले हिमालमा आफ्नो आरोहण दलको गतिविधिलाई भने फोटो, भिडियोमा कैद गर्न सक्नेछन् तर ती सामग्री अन्य प्रयोजनका लागि पाइने छैन । आरोहण गतिविधिबाहेक अन्य प्रयोजनका लागि विभागबाट पूर्व जानकारी लिनुपर्नेछ ।
आरोहण दलको सङ्ख्यानुसार सम्पर्क अधिकृत खटाइन्छ । एक आरोहण दलमा एक सम्पर्क अधिकृत खटिन्छन् । एकदेखि १५ जनाको आरोही दल हुन्छ । आरोहणमा खटिने सम्पर्क अधिकृतको अवधि पनि हिमालअनुसार फरकफरक हुन्छ । सगरमाथा (८,८४८.४६ मी) सहित आठ हजार मिटर अग्ला हिमालका लागि ७५ दिनका लागि सम्पर्क अधिकृत खटाइन्छ । उनीहरु आवश्यकता र मौसमको अनुकूलताअनुरुप खटिन्छन् ।
पर्वतारोहणसम्बन्धी नियमावली–२०५९ मा व्यवस्था भएअनुसार सम्पर्क अधिकृत आरोही दलसँगसँगै कार्यक्षेत्रमा खटिनुपर्ने भए पनि व्यावहारिकरुपमा आरोहीभन्दा केही समय ढिलो सम्पर्क अधिकृत खटिन्छन् । वसन्तयामको आरोहणका लागि स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिइरहेका छन् । अहिलेसम्म बाक्लै सङ्ख्यामा आरोहीले आरोहण अनुमतिका लागि निवेदन दिएको विभागले जनाएको छ । यो यामको आरोहण आगामी मेको पहिलो साताभित्र आरोहण शुरु हुने विभागको अनुमान रहेको निर्देशक आचार्यले बताउनुभयो ।
वसन्त आरोहणका लागि अनुमति लिएका आरोही गन्तव्यतिर लागिसकेका छन् । आरोहणका लागि बाटो बनाउने आइसफल चिकित्सक पनि गन्तव्यमा रहेको विभागले जनाएको छ । आइसफल चिकित्सक सगरमाथाको आधार शिविरभन्दा माथितिर पुगिसकेका छन् । वसन्तयामको आरोहणका लागि विभागले धमाधम आरोहण अनुमति जारी गरिरहेको छ । हालसम्म मनास्लु, लुबुचेलगायत हिमाल आरोहणका लागि आरोही समूह गन्तव्यतर्फ निस्किएका छन् ।
साहसिक पर्यटन आरोहणका क्रममा सम्पर्क अधिकृत खटाइएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको जनाउँदै विभागले आरोहणलाई मर्यादित र प्रभावकारी बनाउन लागेको छ । आरोहणका गतिविधिलाई प्रभावकारी नियमन र व्यस्थित गर्न खटिन सम्पर्क अधिकृतलाई विभागले विशेष जिम्मेवारीका साथ खटाउनेछ ।
आरोहणमा अनुशासन कायम गर्न अघिल्लो वर्षदेखि आरोहणमा सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतका रुपमा खटाइने गरिएको छ । कतिपय सम्पर्क अधिकृत सगरमाथाको आधार शिविरसम्म पनि नपुग्ने, बीच बाटाबाटै फर्कनेजस्ता समाचार बाहिर आएका थिए । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् ।
सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य एक हजार ३०० भन्दा बढी हिमाल रहेको बताइन्छ । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगतरूपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन् ।
सगरमाथा आरोहणको सलामी ऋतुअनुसार फरकफरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । यस्तै, शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै, नेपाली आरोहीले वसन्तु ऋतुमा रू ७५ हजार, शरद ऋतुमा रू ३७ हजार ५०० र गर्मीयाममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ ।
पाँच आरोही समूहलाई अनुमति
हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । पर्यटन विभागले विभागले वसन्तयामको आरोहणका लागि पाँच आरोही समूहलाई ‘एक्सिपिडिशन पर्मिट’ दिएको छ ।
विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा दुई, सोलुखुम्बुमा पर्ने नुप्से (७,८६४ मिटर) एक र गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१ मिटर) आरोहणका लागि दुई समूहलाई अनुमति जारी गरेको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आरोहणकै लागि अहिले विभागमा ५५ भन्दा बढी अनअराइभल भिसाका लागि विभिन्न मुलुकका आरोहीले विभागसमक्ष निवेदन दिएका छन् ।
मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरु भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ । कोभिड–१९ महामारीकै बीच आरोहणमा केही आशाका सङ्केत देखिएका छन् । बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी वैशाखमा सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्ष वसन्तयाममा सर्वाेच्च शिखर आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली गत चैत २ गते नेपाल आएर आवश्यक बन्दोबस्ती मिलाइरहेको छ ।
नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ । कोभिड–१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँदमा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।
असहज परिस्थिति भए पनि विदेशी विशिष्ट व्यक्तिको आरोहणले पर्वतारोहणमा उत्साह जगाएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२० मा जम्मा दुई लाख ३० हजार विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।