• होमपेज
  • विचार/ब्लग
  • कफीमा अनौठो ठगी

कफीमा अनौठो ठगी

मोटोपन घटाउने बहानामा किलोको रु ४० हजारसम्ममा विक्री

  • शुक्रबार, चैत्र ६, २०७७
कफीमा अनौठो ठगी

नारायण ढुङ्गाना | बिनाऔषधि मोटोपन घटाउने अचुक उपाए भन्दै ठाउँठाउँमा विज्ञापन सुनिन्छ । तौल घट्ने लोभमा विज्ञापनबाट प्रभावित भएर कतिपय मानिसले उपचार पनि गराएका छन् । कतै तपाई पनि त्यस्तो लोभमा फस्नु भएको त छैन ? बेलैमा होसियारी नअपनाए तपाई ठगीमा पर्न सक्नुहुने छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले झण्डै डेढ महिना लगाएर अनुसन्धान गरी त्यस्तै ठगीको एउटा सञ्जाल कै पर्दाफास गरेको छ । रसियन नागरिकको सहयोगमा नेपाल, भारत र रसियामा समेत उनीहरूको सञ्जाल विस्तार भएको पाइएको सीआईबीका निर्देशक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उक्त घटनामा कास्कीको पोखरा घर भई काठमाडौँ महानगरपालिका–१७ नयाँबजार बस्ने वान सप्लायर्स प्रालिका सञ्चालक वर्ष ४२ का आशिष आचार्य र रसियन नागरिक इगोर कुसलाई पक्राउ गरिएको छ ।

उनीहरू मिलेर ग्रीन कफीले महिनामा १३ किलोसम्म तौल घटाउँछ भन्दै प्रचारप्रसार गरेर ठगी गरेको प्रहरीले जनाएको छ । निर्देशक तथा प्रहरी नायब महानिरीक्षक थापाका अनुसार उनीहरूले हरियो कफी प्रतिकिलो रु ९६० मा नेपालभित्रै खरिद गरी रु २० हजारदेखि रु ४० हजारसम्ममा विक्री गर्ने गरेको खुलेको छ ।

नियमित सेवन गरेमा त्यसबाट शरीरलाई फाइदा हुने भनी भ्रमपूर्ण विज्ञापन बनाएर प्रचार गर्ने गरेका थिए । औषधि, व्यायाम, डाइटिङ र नकारात्मक असरबिना वजन घटाउने अचम्मको विधि पत्ता लगाएको भन्ने विज्ञापन, प्रकाशित प्रसारित गरेर चर्काे मूल्यमा कफी बेच्दै आएका थिए । सामाजिक सञ्जालमा यस्ता विज्ञापन रसियाबाट प्रकाशित गर्ने गरेको फेला परेको छ ।

उनीहरूले सामाजिक सञ्जाललाई अधिकतम उपयोग गरेको पाइएको छ । आचार्यले उक्त कम्पनीबाट ६०० डलर मासिक रकम लिने गरेको समेत बुझ्न आएको छ । उनीहरूले यस्तो व्यापार गत कात्तिकदेखि शुरु गरेका थिए । त्यसयता झण्डै रु सात करोडको कारोबार भएको अनुमान प्रहरीको छ ।

उनीहरूको साथबाट हरियो कफी ६४४ किलो, विक्रीका लागि तयारी अवस्थामा राखिएको १०० ग्रामको हरियो कफी दुई हजार ८२२ प्याकेट, ल्यापटप २५ थान बरामद गरिएको छ । त्यस्तै रसियन नागरिक कुसको कोठाबाट रु तीन लाख ९७ हजार नगदसमेत बरामद भएको छ ।

उनीहरूले उक्त सामान विक्रीका लागि अनुमति नै नलिई अवैध काम गरेको खुल्न आएको छ । यसरी सामाजिक सञ्जालको प्रयोग गरी नेपाल, भारत र रसियामा समेत नेटवर्क बनाएर विक्री गरेको खुल्न आएको सीआईबीका प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो । उहाँका अनुसार प्रयोकर्ताहरूसँग बुझ्दा कुनै सकारात्मक फाइदा नभएको बरु उल्टै पेट फुल्ने वाकवाकी लाग्ने घटना भएको पाइएको छ ।

फेक विज्ञापन सामाजिक सञ्जालमा देखेपछि ब्यूरोले उक्त घटना पर्दाफास गर्न ग्राहक बनेर अनुसन्धान गरेको थियो । नगद रु सात हजार ९०० मा सय÷सय ग्रामको तीन वटा प्याकेट किनेर अनुसन्धान गर्दा फेक काम गरेको प्रमाणित भएपछि ठगी मुद्दामा पक्राउ गरिएको पन्तले बताउनुभयो । उनीहरूले १०० ग्राम कफीको रु चार हजार ५०० सम्म लिने गरेको फेला परेको छ । मुलुकी अपराध संहितामा ठगी प्रमाणित भए सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने