२४ भदौको जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाट प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये यादवको साथबाट करिब चार लाख रुपैयाँ नगद र केही मात्रामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ। वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट हालको बजार मूल्य अनुसार साढे ३३ करोड रुपैयाँ मूल्य बराबरको सुन र ५ करोड भन्दा बढी नगद चोरी तथा लुटपाट भएको थियो ।
प्रदर्शनकारीले ५ करोड रुपैयाँभन्दा बढी नगद र १८ किलोभन्दा बढी सुन लुटपाट गरेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्याकारी अधिकृत देवेन्द्र रमण खनालले बताए । बैंकको नयाँ बानेश्वर शाखमा रहेको भल्टसम्म पुग्गे आइरन गेटनै फोडेर उक्त लुटपाट भएको पाइएको हो। चोरी र लुटपाट भएको सीसीटीभी फुटेजसहित बैंकले प्रहरीमा उजुरी गरेको थियो ।
बैंकले कर्जा लगानी गर्दा ऋणीबाट धितोको रुपमा लिएको सुन समेत चोरी भएको हो । भदौ २३ गतेबाट सुरु भएको जेनजी प्रदर्शनले भदौ २४ गते उग्ररुप लिएको थियो । सो क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको पछाडि रहेको बैंकको शाखामा तोडफोड तथा लुटपाट भएको थियो । संसद भवनमा तोडफोड तथा आगलागी गरेपछि एक समूहले बैंक शाखा कार्यालयमा प्रवेश गरेर तोडफोड र आगजगनी गर्दै लुटपाट गरेको थियो ।
बैंकको बानेश्वर शाखामा मध्य रातिसम्म पनि एउटा समूहले तोडफोड गरिरहेको थियो । भदौ २४ गते राति १० बजेपछि सेना परिचालन भएसँगै सेनाले बैंक तोडफोड गरिरहेका ५ जनालाई नियन्त्रण्मा लिएको थियो । जेनजी आन्दोलनका क्रममा ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण भएको थियो भने ६९ वटा एटीएममा केही क्षति पुगेको थियो।