जेन जी आन्दोलन र आम जनताले जनदमनका विरुद्धमा गरेको ऐतिहासिक प्रतिवादको बलमा गठन भएको अन्तरिम सरकार यतिबेला देशलाई समृद्धि, स्थीरता र सुशासनको साथै नयाँ सहमतिको आधारमा नयाँ निर्वाचन गर्ने प्रयासमा छ ।
तर, देशको तरल राजनीतिको फाइदा उठाउँदै पर्दा पछाडिबाट भइरहेको खेलका कारण न त सरकार गठन प्रक्रियाले नै पूर्णता पाउन सकेको छ न त अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीको उद्देश्य बमोजिमको कार्यमा तीव्रता । पर्दा पछाडिबाट विभिन्न तत्वहरुले गरिरहेको चलखेलका कारण देशका लागि अठोट बोकेकी प्रधानमन्त्री कार्कीको हात बाँधिने र खुट्टा रोकिने अवस्थामा पुग्न लागेको छ ।
कुनै राति माछा सिकारीले नदिमा बिष हालिदिएको अवस्थामा भोलिपल्ट बिहान खोलभरि मरेका माछा टिप्न भिड लागे झै अहिले जेनजीको नाममा सरकारसँग हिस्सा खोज्ने, शासन व्यवस्थामा दायाँ बायाँ गर्न खोज्ने विदेशी दुष्प्रयासहरु तीव्र गतिमा अघि बढिरहेका छन् ।
भर्खरै गएको बाढी पहिरोमा सरकारले देखाएको सक्रियताले सरकार इमान्दारपूर्वक जनताको पक्षमा काम गर्न चनाखो रहेको तथ्य पुष्टि हुन आएको छ । तर, राजनीतिक बिषयमा जसरी जेनजी र विभिन्न तत्वहरुले प्रभावित पारिरहेका छन्, यसले नयाँ नेपाल निर्माण, नयाँ शासन व्यवस्था, आर्थिक समृद्धिको खाका कोर्ने योजनामा धक्का पुग्ने निश्चित छ ।
कुनै समुहको नाम लिनुभन्दा पनि विभिन्न तत्वहरुले अहिले सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारलाई असफल पार्न सक्रिय भूमिका खेलिरहेका छन् । अहिलेको आवश्यकता भनेको गत भदौ २४ गतेको घटनामा खस्किएको मनोबल उच्च बनाउने, शान्ति सुरक्षा कायम गर्ने, जनतामा विश्वासको वातावरण सिर्जना गर्ने नै हो । तर, जेनजीको नामबाट विभिन्न स्टन्ट हान्ने, पुराना संसदवादी दलहरुले जेनजीको नाममा युवाहरुलाई परिचालन गर्दै सेटिङ हान्न खोजिरहेका छन् । यस्तो सेटिङले देश अगाडि बढ्ने भन्दा पनि अन्योलमा फस्ने निश्चित छ ।
पुराना संसदवादी दलहरुले अझै पनि नचेत्ने, अझै खुराफाती गरेर सेटिङ हान्ने हो भने भविष्यमा पुराना संसदवादी दलहरुको नाम राणा शासन भन्दा पनि कुरुप अध्यायको रुपमा इतिहासको पाना मात्रै सीमित हुनेछ । त्यस्तै, अहिलेको संक्रमणकालिन अवस्थाको फाइदा उठाएर आफ्ना एजेण्डा लागू गर्न चाहने विदेशी तत्वहरुले पनि नेपाली जनताले भविष्यमा गर्ने नयाँ क्रान्तिको आँधीबेहरीले ति देशहरुसँगको सम्बन्धमा दीर्घकालिन असर पार्ने कुरा समेत बिचार गर्न ढिलाई गर्नु हुँदैन ।
सरकारले विभिन्न तत्वहरुबाट भइरहेको उक्साहट, योजना र रणनीतिलाई गहन अध्ययन र विश्लेषण गरेर मात्रै आगामी कदम चाल्नु देशको सर्वथा हित हुने अहिलेको अवस्था छ । अहिलेको तरल अवस्थामा कुनै तत्वहरुको उक्साहट भन्दा पनि योजनाबद्ध र गन्तव्य निर्दिष्ट कार्यक्रममा मात्रै ध्यान दिने हो कि !