मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ ।
मन्त्रिस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख हुनुहुन्थ्यो । उहाँले आजै कार्यकारी निर्देशकको पदवहाली गर्नुभएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक ई रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ । विभागको परिवर्तित स्थायी संरचनाअनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकामा हाल तीनै जना उपमहानिर्देशक नियुक्त गरिएपछि विभागले पूर्णता प्राप्त गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।