• होमपेज
  • फिचर
  • झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?

झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?

  • शुक्रबार, साउन १७, २०८२
झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?

यहाँको बगनासकाली गाउँपालिकाकी एक युवतीले दुई वर्षअघि २१ वर्षको उमेरमा अन्तरजातीय  विवाह गर्नुभयो तर उहाँको दाम्पत्य जीवन तीन वर्ष पनि टिक्न सकेन । एक सन्तानकी उहाँ विवाह भएको दुई वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो । उहाँलाई श्रीमान् र घरपरिवारबाट घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शङ्का गर्ने र छोरालाई स्याहार नगरेको आरोप लगाउन थाले ।
आफूमाथिको आरोप मीनालाई सह्य नभएपछि घर झगडा सुरु भयो । श्रीमान्ले दिएको मानसिक तनाव बेहोर्न कठिन भएपछि उहाँले जिल्ला अदालतमा सम्बन्धविच्छेद (पारपाचुके) सम्बन्धी मुद्दा दर्ता गर्नुभयो । त्यसपछि  घरमा थप कलह बढ्यो । उहाँ आफ्नो घर त्यागेर माइती घरमा बस्न थाल्नुभयो । उहाँको पति–पत्नीको सम्बन्धविच्छेदको मुद्दा गएको जेठ १९ गते अलग हुने सहमतिमा मिलापत्र भयो । हाल ती युवती श्रीमान्बाट अंशसमेत नलिई सम्बन्धविच्छेद् गरेर माइतमा बस्तै आउनुभएको छ ।
यसैगरी, रम्भा गाउँपालिकाकी अर्की महिलाले पनि सम्बन्धविच्छेद गर्नुभएको छ । विदेशमा रहनुभएका श्रीमान्सँग अविश्वास बढेपछि बिहे गरेको ४ वर्षमा सम्बन्धविच्छेद गर्नु प¥यो । तानसेनकी एक महिलाको पनि पीडा उस्तै छ । १३ वर्षको उमेरमा २०५९ सालमा विवाह गर्नुभयो । आमाबुबाको काखमा खेल्ने उमेरमा विवाह गर्नुभएकी उहाँले सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि जिल्ला अदालत पाल्पाबाट सम्बन्धविच्छेद गर्नुभयो । पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिने, अन्य केटीसँग लागेका कारण उहाँले सम्बन्धविच्छेद गर्नुपरेको बताउनुभयो । “सानैमा परिवारका केही सदस्यको करकापमा लतारेर विवाह गराइदिनुभयो । मैले धेरै दुःख पाएँ, श्रीमान्ले दिएको पीडा सहन नसकेपछि सम्बन्धविच्छेद गरेँ”, उहाँले भन्नुभयो ।
पारिवारिक खटपट भए पनि यसअघि सम्बन्धविच्छेदमा महिलाहरू मात्रै अग्रसर हुने गरेको देखिन्थ्यो । पछिल्लो समयमा पुरुषहरू पनि सम्बन्धविच्छेदका लागि धमाधम उजुरी दिन थालेका छन् । रम्भा गाउँपालिकाका एक युवाका आठ वर्षकी छोरी र डेढ वर्षका छोरा छन् । २८ वर्षको उमेरमै दुई छोराछोरी पाइसक्नुभएका उहाँले २४ वर्षकी श्रीमती सीमासँग २०८२ असार १९ गते सम्बन्धविच्छेद गर्नुभयो । श्रीमतीले टिकटक र फेसबुकमा कुराकानी गरिरहने, आफूसँग निहुँ खोजिरहने र भनेको नमान्ने भएकाले सम्बन्धविच्छेद गर्नु परेको उहाँले बताउनुभयो ।
रामपुरका ३५ वर्षीय अर्का युवाले पनि २७ वर्षीया श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुभयो । २०७० मा  प्रेमविवाह गर्नुभएका उनका पनि सात वर्षका छोरा र दुई वर्षकी छोरी छन् । ती युवाले श्रीमती परपुरुषसँग लागेको थाहा पाएपछि सम्बन्धविच्छेद गर्नुभएको हो । ‘टिकटकमा परपुरुषसँगको भिडियो हाल्ने, परपुरुषलाई कोठामा बोलाउने, घर परिवारका सदस्यले भनेको नमान्ने भएपछि सम्बन्धविच्छेद गरी पाऊँ’, भनी उहाँले जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो ।
यी त केही प्रतिनिधि पात्र मात्र हुन् । अपरिपक्व विवाह, प्रेम विवाह र वैदेशिक रोजगारी जस्ता कारण पाल्पामा सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला अदालत पाल्पामा तीन वर्षमा सम्बन्धविच्छेदका मात्र एक हजार ३५६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । अदालत पाल्पाका स्रेस्तेदार केशव पराजुलीका अनुसार २०७९÷८० मा ४४३, २०८०÷८१ मा ४२८  र २०८१÷८२ मा ४८५ मुद्दा दर्ता भएका थिए ।
अघिल्लो आर्थिक वर्षमा कुल ८१५ मुद्दा दर्ता भएकामा सम्बन्धविच्छेदका मात्र ४८५ रहेका छन् । अधिकांश वैदेशिक रोजगारीमा जाने युवायुवतीको घरायसी सम्बन्ध बिग्रेर सम्बन्धविच्छेदका लागि अदालतसम्म आउने गरेको भेटिने गरेको स्रेस्तेदार पराजुलीले बताउनुभयो । उहाँका अनुसार दर्ता मुद्दामध्ये एक हजार १४२ वटा फछ्र्यौट भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग, कम उमेरमा विवाह, वैदेशिक रोजगारजस्ता कारणले गर्दा पारिवारिक बेमेल भएकाले सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका हुन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रबाट बढी सम्बन्धविच्छेदका मुद्दा आउने गरेका उहाँको भनाइ छ ।
अझ रोचक तथ्य के छ भने यहाँ सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या पनि बढ्दै गएको छ । गत  आर्थिक वर्षमा ४८५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ६६ वटा मुद्दा पुरुषले दर्ता गरेका थिए । पुरुषले दिएका अधिकांश मुद्दा पक्षमा फैसला भएका छैनन् । महिला अर्थात् पत्नीलाई प्रतिवादी बनाएर पुरुष अर्थात् पतिले सम्बन्धविच्छेद गर्न माग गर्दै मुद्दा दिनेका सङ्ख्या बढेको छ । पछिल्लो वर्षमा यस्ता खालका मुद्दा बढेका हुन् । तर, दाबीसहितको प्रमाण अपुग हुने गरेको पाइएको छ । केही पक्षमा फैसला भएको छ । पुरुषले दर्ता गरेका अधिकांश मुद्दामा प्रमाण नपुगेको अदालतका तहसिलदार रामप्रसाद पोखरेलले बताउनुभयो । विपक्षी महिलाले प्रतिउत्तर नलगाएका मुद्दा र दाबी अनुसारका प्रमाण पुगेका केही मुद्दामा मात्रै पुरुषको पक्षमा फैसला भएको पोखरेलको भनाइ छ ।
“पीडा दबाएर बसेका पुरुषहरू पनि नयाँ कानुन आएपछि सम्बन्धविच्छेद गर्न अग्रसर देखिएका हुन्,” स्रेस्तेदार पराजुलीले  भन्नुभयो “सम्बन्धविच्छेद अहिले फेसन भएको छ, सम्बन्धविच्छेद गर्न पतिपत्नीबीच प्रतिस्पर्धा हुने गरेको देखिएको छ ।” सम्बन्धविच्छेद गर्न आउँदा उनीहरूले कुटपिट गरेको, खान लाउन नदिएको भन्ने गुनासो गर्ने गरेका छन् । तर, वास्तविकता त्योभन्दा फरक भएको पराजुली बताउनुहुन्छ । “पछिल्लो समयमा सामाजिक सञ्जाल, श्रीमान्हरू वैदेशिक रोजगारीमा रहेका महिलाहरू सम्बन्धविच्छेद गर्ने गरेको देखिएको छ,” उहाँले भन्नुभयो, “बर्सेनि सम्बन्धविच्छेद गराउनेको सङ्ख्या डरलाग्दो रुपले वृद्धि भइरहेको छ । अहिले त पुरुषको सङ्ख्या पनि बढ्दै गयो ।”
स्वतन्त्रता र स्वच्छन्दताका नाममा सम्बन्धविच्छेदका घटनाले प्रशय पाएको स्रेस्तेदार पराजुली  बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सकेसम्म पुनः घरबार होस् भनेर हामीले मेलमिलाप गराउने प्रयास गरेका छौँ, तर परिस्थिति सोचेअनुरुप नभएपछि एउटा निर्णय गर्न बाध्य छौँ ।” यसलाई न्यूनीकरण गर्न समाज र अभिभावक सतर्क नरहने हो भने अझ भयावह बन्ने उहाँको बुझाइ छ । यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसमा मात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने प्रावधान थियो । पत्नीसँग सम्बन्धविच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोक्ने व्यवस्था थियो । तर, पछिल्लो कानुनले प्रक्रियामा सहज बनाएपछि पत्नीपीडित पुरुषहरू सम्बन्धविच्छेदमा अग्रसर हुने गरेको देखिएको अधिवक्ता शिवप्रसाद देवकोटाले बताउनुभयो ।
सम्बन्धविच्छेद बढ्नुका मुख्य कारण वैदेशिक रोजगार भएको उहाँको बुझाइ छ । अधिवक्ता देवकोटो भन्नुहुन्छ, “कामको खोजीमा श्रीमान् वैदेशिक रोजगारीमा जाने गरेका छन् । लामो समयसम्म श्रीमान् श्रीमती टाढिँदा दूरीका कारण पनि एकापसमा विश्वास घटेर शङ्का–उपशङ्का गर्न थाल्छन् र सम्बन्धविच्छेदको बाटो खुल्छ ।” कम उमेरमा विवाह, प्रेम विवाह, पितृ सतात्मक सामाजिक संरचनाबाट ग्रसित जस्ता कुराले पनि सम्बन्धविच्छेद हुने गरेको उहाँले बताउनुभयो । देवकोटाले भन्नुभयो, “प्रेमी–प्रेमिकाले विवाह हुनुपूर्व एक आपसमा आश्वासन बाँड्ने तर विवाहपछि ती आश्वासन पूरा नगर्ने, अर्कोतर्फ माइतीमा आमा÷बुबाले दिने मानसम्मान सासू, ससुराबाट नपाउँदा पनि घरायसी झगडाबाट श्रीमान्, श्रीमतीको सम्बन्ध टुट्न पुग्छ ।” सूचना प्रविधिको प्रयोगबाट हुने विवाहमा पनि सम्बन्धविच्छेद हुने गरेको उहाँको भनाइ छ ।
सम्बन्धविच्छेदलाई आज पनि पारिवारिक रूपमा कठिन परिस्थितिका रूपमा चित्रण गरिन्छ । दम्पतीले वैवाहिक सम्बन्ध तोडेर अलग हुने निर्णय गर्दा यसको असर उनीहरूका सन्तानमा पर्ने गरेको छ । बच्चाहरूमा त्यस्तो प्रभाव लामो समयसम्म रहने महिला अधिकारकर्मी गङ्गा पौडेल बताउनुहुन्छ । सम्बन्धविच्छेदका सकारात्मकभन्दा नकारात्मक असर भेटिने उहाँको भनाइ छ तर  सम्बन्धविच्छेदसँग बालबालिकाको उदासीपनसँगै सकारात्मक पक्ष पनि जोडिएको हुन्छ । “दैनिक हुने झै–झगडाबाट मुक्त हुँदा उनीहरूमा सकारात्मक असर पनि देखिएका हुन्छन्” पौडेल भन्नुहुन्छ ।
Facebook Comments

सम्बन्धित समाचार