नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बुधबारदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको हो । निगमका अनुसार पहिलो वर्गमा पर्ने क्षेत्रहरुमा अब पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँमा पाइने छ ।
यस्तै, दोस्रो वर्गका क्षेत्रहरुका लागि यसको मूल्य एक सय ६० तोकिएको छ भने तेस्रो वर्गका लागि एक सय ६३ कायम गरिएको छ । यसैगरी डिजेल र मट्टितेल पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४६ र तेस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ कायम गरिएको छ । निगमले ग्यासको मूल्यमा भने परिवर्तन गरेको छैन ।
निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ३ रुपैयाँ १५ पैसा र डिजेल प्रतिलिटर २ रुपैयाँ ६२ पैसा मूल्य घटेर आएका कारण स्थानीय बजारमा पनि घटाइएको हो ।