मुक्तिनाथ विकास बैंक लिमिटेडले सात प्रदेशमा बृहत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘साक्षर बनौं, सक्षम बनौं’ भन्ने मूलमन्त्र आत्मसाथ गर्दै बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फागुनमा सात प्रदेशका विभिन्न स्थानका समुदायमाझ बृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम विषेशगरी किसान, उद्यमी, महिला तथा युवा लक्षित गरी आयोजना भएको थियो ।
कार्यक्रममा व्यावसायिक योजना तयारी, बजारीकरण सम्भावना, बजार व्यवस्थापन रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी र खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, बीमा, विप्रेषण, डिजिटल बैंकिङ सेवा, डिजिटल माध्यमबाट हुन सक्ने रकम अपचलन, ग्राहक अधिकार लगायत विषय समेटिएका थिए । बृहत वित्तीय साक्षरता कार्यक्रममा उपस्थित व्यक्तिले यस्ता किसिमका कार्यक्रमले आफूमा भएका दुविधा हट्ने र भविष्यमा आइपर्ने जोखिम समयमै व्यवस्थापन गर्न सहजीकरण हुने आशय व्यक्त गरिएको बैंकले जनाएको छ ।
आर्थिक सामाजिक उत्तरदायित्व आत्मसाथ गर्दै यस किसिमका कार्यक्रम विगतमा पनि सञ्चालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने, यस्ता कार्यक्रमले जनमानसको बैंक तथा वित्तीय संस्थाप्रतिको नकारात्मक धारणा हट्ने र वास्तविक सूचना समुदायमाझ पुग्ने भएकाले यसको सकारात्मक प्रभावकारिता रहेको बैंकले जनाएको छ ।
बैंकले हालै ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।